काठमाडौं, २६ पुष – देशभरका मेडिकल कलेजका विद्यार्थीहरुले राष्ट्रव्यापी न्यानो कपडा दान अभियान सुरु गरेका छन्।
‘न्यानो बाडौं, खुसी बाडौं’ नारासहित हिउँदको कठ्याँग्रिदो जाडोमा न्यानो बाँड्न अभियान सुरु गरिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी कृष्ण बहादुर चन्द सोडारीले जानकारी दिए।
अभियानअन्तर्गत शनिवार बल्खु बस्तीस्थित जागरण टोलमा ५ सय घरधुरीलाई न्यानो वितरण गरिएको छ। न्यानो पाएर बालकदेखि वृद्धसम्म करिब २ हजार करिब २ हजार जना लाभाम्वित भएको यो कार्यक्रमका संयोजक चन्दले बताए।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकै विद्यार्थी अधिराज आचार्य सभापति र प्रमुख अतिथि जागरण टोल सुधार समितिका अध्यक्ष हिमाल लामा रहेको कार्यक्रममा जागरण टोलका सचिव प्रज्ज्वल लिम्बुले स्वागत मन्तव्य राखेका थिए।
अभियानमा काठमाडौं उपत्यकाबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमान्डौ मेडिकल कलेज, नेपाल मेडिकल कलेज, जोरपाटीका विद्यार्थी संलग्न छन्।
उपत्यका बाहिर लुम्बिनी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, देवदह मेडिकल कलेज, जानकी मेडिकल कलेज, काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेज सहभागी छन्।
अभियानमा विभिन्न क्लब र संस्थाहरुले पनि साथ दिएको पाटनका मेडिकल स्टुडेन्ट चन्दले बताए।
FACEBOOK COMMENTS