काठमाडौं, पुस २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्ने गरी अनुमति मिलेको छ । हाउस अफ रिप्रेजेन्टिभ (एचओआर) की अध्यक्ष नेन्सी पेलोसीले आइतबार महाअभियोगको प्रस्ताव ल्याउन अनुमति दिएकी हुन् ।
गत ७ जनवरीमा ट्रम्पका समर्थकले क्यापिटल भवनस्थित अमेरिकी संसद्मा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए । सो भिडलाई ट्रम्पले भड्काएको र हिंसाप्रेरित अभिव्यक्ति दिएको आरोप छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले धाँधली गरेको अभिव्यक्ति दिएपछि समर्थक उत्तेजित भएका थिए । हजारौँको संख्यामा उपस्थित ट्रम्प समर्थकले क्यापिटल भवनमा हिंसात्मक गतिविधि गरेका थिए । हिंसात्मक गतिविधि नियन्त्रणमा लिन प्रहरीले गरेको कारबाहीमा सातजनाको निधन भएको थियो । सोही घटनामा मुख्य जिम्मेवार मानिएको ट्रम्पमाथि महाअभियोग लगाएर २० जनवरीअघि नै पदबाट बर्खास्त गर्न लागेको अमेरिकी समाचार संस्थाहरूले जनाएका छन् । २० जनवरीमा ४६औँ अमेरिकी राष्ट्रपति जो बाइडेनको शपथग्रहण हुँदैछ । अमेरिकाको संविधान २५औँ संशोधनले कुनै पनि राष्ट्रपतिलाई हटाउन सकिने प्रावधान राखेको छ ।
हाउस अफ रिप्रेजेन्टिभ (एचओआर) की अध्यक्ष पेलोसीले उपराष्ट्रपति माइक पेन्सले कुनै पनि कारबाही अगाडि नबढाउँदा आफूहरूसँग प्राप्त अधिकार प्रयोग गरी ट्रम्पविरुद्ध महाअभियोगको भोटिङ गर्ने जनाएकी छिन् । ‘अब पनि ट्रम्पमाथि केही कारबाही नभए नियमअनुसारै महाअभियोगको भोटिङ प्रक्रिया अगाडि बढाउँछौँ,’ पेलोसीले भनिन् । यस क्रममा चार सय ३५ सदस्यले मतदान गर्नेछन् ।
यसलाई आर्टिकल्स अफ इन्पिचमेन्ट भनिन्छ । महाभियोग दर्ता भएको दिन यसको सुनुवाइ हुन्छ । यसै सुनुवाइमा राष्ट्रपति दोषी वा निर्दोष रहेको छिनोफानो हुन्छ । यस सुनुवाइबाट केही पनि निर्णय भएन भने मतदानको प्रक्रिया अगाडि बढाइन्छ । राष्ट्रपतिलाई पदबाट हटाउन दुईतिहाइ बहुमत आवश्यक पर्छ । अमेरिकी इतिहासमा एकै राष्ट्रपतिमाथि दोस्रोपटक महाअभियोग लगाउन लागेको यो पहिलोपटक हो । गत वर्ष पनि ट्रम्पमाथि महाअभियोग लगाइएको थियो । त्यसवेला उनी महाअभियोगबाट उम्केका थिए । यसपटक महाअभियोग लगाइए ट्रम्प उम्कन सक्ने बाटो नभएको अमेरिकी एजेन्सीहरूको भनाइ छ ।
बाइडेनमाथि अनुसन्धान गर्न ट्रम्पले युक्रेनलाई गत वर्ष दबाब दिएका थिए । ४६औँ राष्ट्रपतीय निर्वाचनअघि नै ट्रम्पले युक्रेनसँग सहयोग मागेका थिए । यसै विषयलाई लिएर विपक्षी पार्टीले ट्रम्पविरुद्ध महाअभियोग लगाएको थियो । तर, एचओआरमा ट्रम्प पक्षधर बहुमत भएपछि त्यसवेला उनी बचेका थिए ।
FACEBOOK COMMENTS