नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सूर्य चिह्नमा नजर नलगाउन चेतावनी दिएका छन् । मंगलबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सूर्य चिह्न आफूहरूको भएको दाबी गरे ।
अध्यक्ष नेपालले आफूहरूसँग ७० प्रतिशतभन्दा धेरै केन्द्रीय सदस्य रहेको र आधिकारिक पार्टी आफूहरूको नै रहेको बताए । नेकपाको सूर्य चिह्न कायम गराउने व्यक्ति आफू रहेको जिकिर गर्दै उनले सूर्यको उज्यालो जनतामा आफूहरूले नै निरन्तर छर्ने बताए । उनले व्यंग्य गर्दै प्रधानमन्त्री ओली र उनका पक्षधरले अस्ताउँदो सूर्य चिह्न लिँदा हुने बताए । ‘सूर्य चिह्न हाम्रो हो । नेकपा हाम्रो हो । यसमा कसैले कर्के नजर नलाए हुन्छ,’ अध्यक्ष नेपालले भने, ‘सूर्यको उज्यालो हामीले नै जनतामा छर्ने हो । ओली कमरेड र उहाँको केपी ओली फाउन्डेसन गुटले अस्ताउँदो सूर्य लिँदा हामीलाई केही भन्नु छैन । कुनै आपत्ति छैन ।’
उनले प्रधानमन्त्री ओलीमा कम्युनिस्ट चरित्र नभएको दाबी गरे । आफू महासचिव हुँदा ओलीले पार्टीको नामबाट कम्युनिस्ट हटाउने प्रस्ताव गरेको उनको भनाइ थियो । ‘उहाँ कम्युनिस्ट चरित्र भएको व्यक्ति होइन । उहाँले म महासचिव हुँदा पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन प्रस्ताव गर्नुभएको थियो । मैले त्यसलाई अस्वीकार गरेको हो,’ अध्यक्ष नेपालले भने, ‘कुनै दिन उहाँले कम्युनिस्ट त्यागेको घोषणा गर्न सक्नुहुन्छ । त्यो दिन आयो भने पनि अचम्म मान्नुपर्दैन ।’ प्रधानमन्त्री ओली कम्युनिस्ट पार्टीभन्दा पनि गुट निर्माणमा खप्पिस रहेको उनको आरोप थियो ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनर्स्थापना हुने बताएका छन् । मंगलबार गण्डकी प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सूर्य चिह्न पनि आफूहरूकै हुने बताए ।
अध्यक्ष प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको भन्दै यसलाई जोगाउन सडकमा आएको बताए । उनले ओलीप्रति व्यंग्य गर्दै आफूहरू कुनै हास्यव्यंग्य गर्न र प्रहसन गर्न जनता र कार्यकर्ताको माझमा नआएको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्नेमा ढुक्क रहेको उनको भनाइ थियो । सर्वोच्चले संविधानको व्याख्या गर्ने भन्दै अन्यथा नहुने उनको भनाइ छ ।
सूर्य चिह्न र पार्टी पनि आफूहरूकै हुनेमा ढुक्क रहेको उनले बताए । यदि त्यसो नभए आँधीबेहेरी र हुरी चल्ने उनको भनाइ थियो । ‘सर्वोच्च अदालतले संविधानमा उल्लेख भएका कुराकै व्याख्या गर्ने हो । संशोधन गर्ने होइन । त्यसैले तपाईंहरू ढुक्क हुनुहोस्, संसद् पुनस्र्थापना हुन्छ । सूर्य चिह्न पनि हाम्रो नै हो । यसमा कुनै समस्या नै छैन ।’
तैपनि यसमा सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘कमरेड केपी ओली के कारणले संसद् पुनस्र्थापना हुँदैन भन्ने आँट गरिरहनुभएको छ ? उहाँलाई यो कुराको आँट कहाँबाट आएको छ भनेर हामी सचेत हुनुपर्छ,’ प्रचण्डले थपे, ‘उनले भनेजस्तै हुने अवस्था आए आँधीबेहेरी र हुरी चल्छ । हामी सर्वोच्च अदालतका साथै जनताको पनि अदालतमा यसै आएका छैनौँ ।’
उनले ‘जनताको बहुदलीय जनवाद’ माधवकुमार नेपालले नभई प्रधानमन्त्री केपी ओलीले नै छाडेको बताएका छन् । पार्टी एकता गर्दा तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवाद र तत्कालीन एमालेको जनताको बहुदलीय जनवादलाई संश्लेषण गर्ने वेला माधव नेपालले कार्यक्रमको रूपमा भए पनि बहुदलीय जनवादलाई राख्नुपर्ने अडान राखेको उनले स्मरण गरे । तर, प्रधानमन्त्री ओलीले आफूसँग जबज हटाउन सहमत भएर हस्ताक्षर गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले तत्कालीन माओवादीले गरेको जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाए । माओवादी आन्दोलनले परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भनेर पार्टी एकता हुँदा आफूले हस्ताक्षर गरेको नबिर्सन उनले ओलीलाई चेतावनी दिएका छन् । ‘के जनयुद्ध कुहिएकै फर्सी हो त ? के माओवादी आन्दोलनले यो परिवर्तन ल्याउन भूमिका खेलेको हो भनेर उहाँ (ओली)ले गरेको हस्ताक्षर जालसाँची हो ?,’ प्रचण्डले प्रश्न गरे । आफूलाई गाली गर्दै नेकपा ओली समूहतर्फ लागेका नेताहरूलाई पनि अध्यक्ष प्रचण्डले ‘जनयुद्ध कुहिएको फर्सी हो भनेको सुन्न गएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।
कार्यक्रममा नेकपा सचिवालयका सदस्य नारायणकाजी श्रेष्ठ र गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेललगायतले पनि सम्बोधन गरेका थिए । उनीहरूले संसद् विघटन गर्ने कदमको विरोध गरेका थिए ।
FACEBOOK COMMENTS