काठमाडौं, १० माघ – दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब समूह ‘ए’बाट चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार एपीएफले कर्णालीलाई ७१ रनले हराउँदै सेमिफाइनलमा पुग्दा आर्मीले पनि एक खेल बाँकी छँदै अन्तिम चारमा पुग्न सफल भएको हो । यो समूहबाट कर्णाली, गण्डकी र प्रदेश १ बाहिरिएका छन् । २ सय १९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४३ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयो । हेमन्त ओलीले सर्वाधिक ५८ रनको योगदान दिए पनि हार टार्न सकेन । ओपनर विपिन रावललाई ७ रनमा आउट भए । निश्चल रावल २ रनमा आउट भए । तेस्रो विकेटका रवीन्दद्रजंग शाही र हेमन्त ओलीले ३४ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए पनि १५औं ओभरमा रवीन्द्र १४ रनमा बोल्ड आउट भए । चौथो विकेटका लागि हेमन्त र हिमांशु शाहीले ५६ रनको साझेदारी गर्दै कर्णालीलाई जितको आशा दिलाए । ३१औं ओभरमा सन्दीप जोराले डाइरेक्ट थ्रोमा हेमन्तलाई रन आउट गरेपछि एपीएफ खेलमा फर्किएको थियो । हिमांशु शाही २० रनमा आउट भए । राज शाह १२ रनमा पेभेलियन फर्किए । अभिषेक बम ठकुरी १२ रनमा स्टम्पिङ भए । बसन्त रेग्मी र किशोर महतोले समान ३ विकेट लिए । भुवन कार्कीले २ तथा कप्तान शरद भेषावकरको नाममा १ विकेट रह्यो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफ ४९ ओभर ५ बलमा २ सय १८ रन जोडेको थियो । सन्दीप जोराले सर्वाधिक ६० रनको योगदान दिए । ओपनर रीत गौतमले लगातार दुई खेलमा रनको खाता खोल्न सकेनन् । कप्तान शरद भेषावकर ८ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए । शंकर राना १५ रनमा तथा सुमित महर्जन १० रनमा क्याच आउट हुँदा एपीएफ १७.२ ओभरमा ६७–५ को अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि सन्दीप जोरा र अमरसिंह राउटेलाले ७८ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाए । अमर ३१ रनमा आउट भए । तल्लोक्रमका वसन्त रेग्मी १४ र कमलसिंह ऐरी ९ रनमा आउट भए । भुवन कार्की १५ र किशोर महतोले १३ रनको योगदान दिए । कर्णालीका कप्तान रवीन्जंग शाही र अद्रनुज चुनराले समान ३ विकेट लिदा राज शाह र दिवान पुनले २ विकेट लिए । एपीएफ र आर्मीले सुरुवाती तीनै खेलमा जित निकालेका छन् । माघ १२ मा हुने यी दुई टोलीबीचको खेलको नतिजाले समूह विजेता र उप विजेताको निर्धारण गर्ने छ ।
लुम्बिनी प्रदेशसँग ६ विकेटको हार बेहोर्दै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । यो जितसँगै लुम्बिनीले समूह ‘बी’ बाट शीर्ष दुईमा रहँदै सेमिफाइनमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । सौरभ खनाल १८ रनमा तथा प्रकाश केसी १७ रनमा अविजित रहे । सुदूरका शेर मल्लले २ र विनोद लामाले १ विकेट लिए । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमा अल आउट हुन पुगेको थियो । लुम्बिनीको घातक बलिङसामु सुदूरपश्चिमका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । ४ खेलाडीले खाता खोल्न सकेनन् । नारायण जोशीले सर्वाधिक १७ रनको योगदान दिदा कप्तान सन्तोष भट्टले ११ रन बनाए । कृष्ण कार्कीले ४ विकेट लिए । विक्रम भुषाल र अनिल खरेलले समान २ विकेट लिदासन्दीप सुनार र दीपेन्द्र रावतको नाममा १–१ विकेट रह्यो ।
समूह ‘बी’बाट शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्न बागमती प्रदेश, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच कडा प्रतिस्पर्धा हुने भएको छ । बागमती ३ खेलमा ३ मा जितसहित शीर्ष स्थानमा छ । लुम्बिनी ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो तथा पुलिस ३ खेलमा २ मा जित र १ हारसहित तेस्रो स्थानमा छ ।
FACEBOOK COMMENTS