काठमाडौं, माघ १५ –कृषिमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन दिने सरकारी निर्णयका विरुद्ध बुधवार ४० भन्दा बढी संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषिमा विदेशी लगानी खुला गर्दा त्यसले नेपाली कृषक तथा समग्र देशको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने भन्दै किसान, कृषि उद्यमी तथा अन्य विभिन्न संघसंस्थाले निर्णय खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
बुधवार भएको प्रदर्शनमा नेपाल अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय पशुपक्षी पालन सहकारी संघ लि, केन्द्रीय कृषि बिउ तथा तरकारी सहकारी संघ नेपाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बाख्रा व्यवसायी महासंघ, जिल्ला, आईपीएम कृषक संघ चितवन, डेरी उद्योग संघ, मौरी पालक महासंघ, नेपाल मत्स्य व्यवसायी संघ, नेपाल कुखुरा पालक किसान संघ, चितवन केरा उत्पादक संघ, उद्योग वाणिज्य महासंघ, वस्तुगत संघ लगायत ४० भन्दा बढी संघसंस्था आबद्ध भएका थिए ।
प्रदर्शन कार्यक्रममा संघर्ष समितिका संयोजक शिवराम केसीले कृषिमा विदेशी लगानी आउनु देशको दुर्भाग्य भएको बताए । आत्मनिर्भरउन्मुख कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्दा अर्थतन्त्र खस्किनुका साथै स्वरोजगार किसान, उद्योगी व्यवसायीको समेत रोजीरोटी खोसिने उनले उल्लेख गरे ।
साना किसान उद्यमीको रोजीरोटी र जीविकोपार्जनका साथै पर्यावरणमा असर पर्न नदिन, नेपाली कृषि संस्कृतिको संरक्षणका लागि नेपाली माटो र श्रमको कदर गर्न, स्वदेशी साना लगानीकर्ता किसान र उद्योगीहरूको संरक्षण गर्न र स्वदेशी श्रम र पूँजीको संरक्षण गर्न आफूहरूले सरकारी निणर्यको विरोध गर्नुपरेको प्रदर्शनमा सहभागीहरूको भनाइ छ ।
कृषिमा विदेशी लगानी खुला गरिँदा निजी तथा सरकारी क्षेत्रको अर्बौं लगानी जोखीममा पर्ने सम्भावना भएकोले जसरी भए पनि सरकारले उक्त निर्णय खारेज गर्नुपर्ने संघर्ष समितिका महासचिव प्रह्लाद दाहालले जानकारी दिए । उनका अनुसार त्यसको नकारात्मक असर रोजीरोटीमा पर्न गई ग्रामीण क्षेत्रका किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटो समेत अवरुद्ध भई देश चरम गरीबीतर्फ धकेलिनेछ ।
FACEBOOK COMMENTS