काठमाडौँ, माघ १९ – कोरोनाभाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका यूकेका स्वास्थ्यकर्मीका लागि तीन करोडभन्दा बढी पाउन्ड (पाँच अर्बभन्दा बढी नेपाली रुपैयाँ) चन्दा उठाएका क्याप्टेन सर टम मूर कोभिड-१९ भएपछि अस्पताल भर्ना भएका छन्।
सय वर्षीय पूर्वसैनिक मूरलाई बेडफर्ड अस्पताल लगिएको उनको छोरी हाना इन्ग्राम मूरले बताइन्। उनलाई गत साता कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र उनलाई सघन उपचारकक्षमा राख्नु नपरेको बताइएको छ।
निमोनिया भएका कारण सर मूरलाई कोरोनाभाइरसको खोप दिइएको छैन। सयौँ जन्मदिनअगाडि आफ्नो बगैँचाको १०० फन्को घुमेर चन्दा उठाएका उनको प्रयासलाई धेरै चन्दादाताले सहयोग गरेपछि उनी चर्चामा आएका थिए।
उनलाई ब्रिटिश महारानीले जुलाईमा सो कार्यका लागि सरको उपाधि दिएकी थिइन्। उनलाई सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री बोरिस जोनसन, स्वास्थ्यमन्त्री म्याट ह्यान्कक, इङ्ग्ल्यान्डको फुटबल टोलीसहित विभिन्न व्यक्ति र संस्थाले सुस्वास्थ्यको कामना गरेका छन्।
FACEBOOK COMMENTS