काठमाडौं, माघ २४- पाटन अस्पतालमा कार्यरत डा. पवन शर्माको साइकल संगत करिब ५० वर्षदेखिको छ। डा. शर्माको पार्किङमा लाखौं पर्ने गाडी छन् तर अफिस जाँदा–आउँदा होस् या सरसामान किन्न बजारतिर निस्किँदा, पहिलो रोजाइमा साइकल नै पर्छ। डा. शर्मा दैनिक १५ देखि २० किलोमिटर साइकल यात्रा गर्छन्। तर, उबेलाजस्तो रमाइलो महसुस नहुने उनी बताउँछन्।
‘सहरमा साइकल लेन छैन। धुवाँ धुलो र प्रदूषणले ग्रस्त छ। साइकल चढ्नेलाई हेपेर व्यवहार गर्ने चलन छ। प्राइभेट गाडी, सार्वजनिक यातायातले साइकललाई सवारी साधन नै ठान्दैनन्। नयाँ बन्दै गरेका बाटासमेत पैदलयात्री र साइकलमैत्री छैनन्’, उनी भन्छन्।
उनका अनुसार साइकल यात्रा गर्दा फाइदै फाइदा छ। शारीरिक व्यायाम हुन्छ। इन्धन खपत घट्छ। प्राकृतिक वातावरण पनि स्वच्छ बनाउन मद्दत पुग्छ। धुलो धुवाँले प्रदूषित बनेको सहर सफा गर्न यहाँ हुने सवारी साधनको चाप घटाउनै पर्ने उनको ठम्याइ छ।
जब सवारीको चाप, ट्राफिक जाम, भीडभाड हुन्छ, प्रदूषण बढ्छ तव वातावरण संरक्षण र मानव स्वास्थ्यबारे कुरा उठ्ने गरेको छ। त्यही बेला सम्झिने गरिन्छ साइकललाई। सहरलाई सुन्दर राख्न, मानव स्वास्थ्यमा सकारात्मक ऊर्जा फैलाउन तथा साइकल टुरिजम बढाएर देशको आम्दानी बढाउन साइकल उपयुक्त माध्यम बन्न सक्छ।
नेपाल साइकल संघका अध्यक्ष गोपाल कक्षपति साइकललाई यात्राको साधनसँगै रमाइलोका लागि र खेलकुदका रूपमा पनि अघि बढाउनुपर्ने बताउँछन्। कक्षपतिका अनुसार माउन्टेन बाइक भित्रिएसँगै २५ वर्षदेखि साइकलको प्रयोग ‘फन ट्राभल’का लागि हुन थाल्यो। सन् २००८ देखि फन ट्राभल गर्ने साइकल राइडरको संख्या बढेको कक्षपति बताउँछन्। पछिल्लो समय खेलका रूपमा पनि प्रयोग हुन थालेको छ। तर, सहरमा साइकल ट्र्याक छैन। साइकलयात्री जोखिमपूर्ण तवरले यात्रा गरिरहेका छन्।
कक्षपति साइकल संस्कृतिको विकास गर्न सरकारको ध्यान नपुगेको बताउँछन्। उनका अनुसार सडक निर्माण गर्दा साइकल लेनको अवधारणा छैन। भन्छन्, ‘खालि गाडी पार्किङ, ट्याक्सी स्टेन्ड र सडक चौडा मात्रै पारेर हुन्छ त ?’ ललितपर नगरपालिकाले केही मात्रामा साइकल लेन निर्माण गरेको देखिन्छ। तर, बनेका पूर्वाधार पनि अन्य सवारी साधनको मिचाइँमा परेका छन्।
साइकल सवारी र टुरिजमको सम्भावना रहेको कक्षपति बताउँछन्। ट्र्याक बनिनसकेको भए पनि साइकल यात्राका लागि विदेशी पर्यटक आउने गरेका छन्। मनाङ, मुस्ताङ, पाल्पा, चरिकोट, लुम्बिनीलगायत ठाउँमा साइकल टुरिजम चलिरहेको छ। माउन्टेन बाइकजस्ता अभियान चलाउँदा पर्यटकको संख्या बढ्न सक्ने सम्भावना रहेको उनी बताउँछन्।
‘नेपालको भौगोलिक स्थिति र सुन्दरता हेर्दा साइकल टुरिजम फस्टाउने सम्भावना छ। साइकल यात्रा सुरक्षित बनाई साइकल राइडरको संख्या बढाउनुपर्छ भन्ने अभियानमा जुटेका युवा सोसाइटीमा आबद्ध छन्’, नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठ भन्छन्। ललितपुर महानगरसँगको सहकार्य र उनीहरूकै पहलमा ललितपुरमा साइकल लेन निर्माण भएको उनको भनाइ छ।
काठमाडौं पुरानै सहर भएकाले पुराना बाटामा साइकल लेन भएन भन्नुभन्दा पनि नयाँ बाटा र बस्तीमा ट्र्याक खोल्नुपर्ने उनको जोड छ। भन्छन्, ‘यहाँ हरेक बाटामा साइकल लेन बनाउन सम्भव त छैन। पुराना संरचना भत्काउँदा, ऐतिहासिक सम्पदा, संस्कृति र पौराणिक मान्यता गुम्ने सम्भावना हुन्छ। यसले गर्दा पुराना संरचनालाई यथावत् राखेर नयाँ बाटो र सहर विकास गर्दा साइकल लेनलाई ध्यान दिनुपर्छ।’
महानगरले गाडीका बाटा मात्रै चौडा बनाउने र गाडीका पार्किङ मात्रै बनाउने हो भने केही वर्षमै सहर बस्नलायक नरहने उनको तर्क छ। छोटो दूरीमा हिँडेरै वा साइकलमा जान सक्ने सजिलो वातावरण सरकारले बनाउनुपर्ने उनी बताउँछन्।
‘सहरमा बस्ने मानिसले सामान्यतः दैनिक ५ देखि १० किमि दूरीका लागि ८० प्रतिशतभन्दा बढी सवारी साधन प्रयोग गर्छन्। जुन आवश्यक हैन। ५–७ किमि त हिँडेर जाने वातावरण हुनुपर्यो नि’, उनी भन्छन्, ‘२० वर्षअघि बनाएको सहरको डिजाइनले अहिलेको साइकलयात्रीलाई असर पर्छ। यसैले पनि सहरको संरचना निर्माण गर्दा २० वर्ष पछिलाई सोचेर बनाउन जरुरी छ।’
उनका अनुसार साइकल अवधारणामा युवाको संख्या बढ्दो छ। उनी भन्छन्, ‘एक दशकअघि सीमित साइकलयात्री थिए। तर, अहिले कुनै इभेन्ट गर्नुपर्यो सजिलै चार÷पाँच सय साइकल राइडर भेला गर्न सकिन्छ।’
आर्किटेक डिजाइनर सोमराज राना पनि हरेक दिन साइकल चढ्छन्। सहरको संरचनाले भने असर गर्ने राना बताउँछन्। सडकमा पैदल यात्री र साइकल यात्री प्राथमिकतामा नपर्ने उनको अनुभव छ। उनका अनुसार साइकल चलाउने हो भने शारीरिक व्यायाम पुग्छ। इन्धन खपत घट्छ। उनी एक दशकअघि मोटरसाइकलमा चढ्थे। तर, नाकाबन्दीपछि भने निरन्तर साइकल सवारीमा रहेको उनी सुनाउँछन्।
FACEBOOK COMMENTS