काठमाडौं, २ फागुन- गरिमा विकास बैंकको १४ औं साधारणसभाबाट श्यामप्रसाद बस्याल अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । स्याङ्जाको गल्याङ नगरपालिका – ३ घर भएका बस्याल बैंकको स्थापनाकालदेखिनै संचालक समितिमा रहँदै आएका थिए । संस्थापक शेयरधनी समूहतर्फ ३ जना र सर्वसाधारण शेयरधनी समूहतर्फबाट ३ जना गरि बनेको ६ जनाको संचालक समितिको पहिलो बैठकले बस्याललाई अध्यक्ष निर्वाचित गरेको थियो ।
यसैगरी १४ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूहतर्फ संचालकमा श्यामप्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि यही माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा माघ ११ गतेसम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।
FACEBOOK COMMENTS