काठमाडौं, २ फागुन- प्रदेशको अस्थायी राजधानी धनगढी बसपार्कमा ‘प्रेम रुपलाई होइन मानवतालाई गरौँ’ भन्ने नारासहित हृदयको आँखा कार्यक्रम आयोजना गर्दै सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीलाई गुलाफ उपहार दिँदै प्रणय दिवस मनाइएको छ । सामाजिक कार्यमा सक्रिय युवाहरूको संस्था हेल्प फर हेप्पिनेस प्रणय दिवस मनाएको हो ।
हेप्पिनेसका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सार्वजनिक सवारीका चालक, सह–चालक र एम्बुलेन्स चालकलाई गुलाफसँगै खादा ओढाएर सम्मान गरिएको छ भने सबैलाई चकलेट र किरिङ पनि प्रदान गरिएको हो ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीलाई पनि गुलाफ उपहार दिँदै खादा ओढाएर सम्मान गरिएको छ । ट्राफिक व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले एउटा/एउटा सिट्ठी पनि दिइएको छ ।
सवारी चालकका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदूरपश्चिम सचिव रामसिंह महराले सम्मानका लागि धन्यवाद ज्ञापन गरे ।
उनले प्रेमी-प्रेमिकाबीच मात्र नभएर मानव जातिले एकअर्कालाई प्रेम गर्नुपर्छ भन्ने सन्देश दिने गरी आयोजित कार्यक्रमको प्रशंसा गरे भने कार्यक्रमका विशिष्ठ अतिथि रहेका एम्बुलेन्स चालक संघ सुदूरपश्चिमका अध्यक्ष लक्ष्मण सिंहले पनि सम्मानका लागि धन्यवाद दिए ।
विशिष्ठ अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी नायब निरीक्षक मोहनसिंह चैसिरले सबै सवारी चालकहरूलाई यात्राका क्रममा भेटिने यात्रुलाई प्रेमवत व्यवहार गर्न आग्रह गरे ।
उनले हेप्पिनेसले प्रेम दिवस मनाउन गलत परम्परालाई तोड्दै नयाँ अभ्यासको सुरुवात गरेकोमा पनि धन्यवाद दिए । संस्थाका संयोजक भण्डारीले सवारी चालक, सह–चालक, एम्बुलेन्स चालक र ट्राफिक प्रहरीको जिम्मेवारी आफैंमा महत्त्वपूर्ण भएको बताए ।
उनले सबैप्रति सम्मान दर्शाउँदै कोरोना महामारीका बेला पनि फ्रन्ट लाइनमा खटिएर सर्वसाधारणलाई सेवा दिएको स्मरण गर्दै धन्यवाद समेत दिए ।
भण्डारीले यात्राका क्रममा सवारी चालकले महिला, वृद्धवृद्धा, शारीरिक रूपमा अशक्तहरूलाई उचित सम्मान दिने गरेको भए पनि कहिलेकाहीं समस्या भोग्नुपरेका गुनासो आउने भएकाले त्यसतर्फ पनि विशेष ध्यान दिन पनि आग्रह गरे ।
कोभिडका बेला एम्बुलेन्स चालकले संक्रमितलाई निःशुल्क कोभिड अस्पतालसम्म पुगाउने काम प्रशंसनीय रहेको पनि उनले उल्लेख गरे । हेप्पिनेसले यातायात मजदुर संगठन, एम्बुलेन्स चालक संघ र ट्राफिक प्रहरी कार्यालयलाई मायाको चिनो पनि प्रदान गरेको छ । कार्यक्रममा हेल्प फर हेप्पिनेस टिम सुदूरपश्चिमको आपतकालीन असहाय सहयोग कोष, मोटिभेसनल टिम र भेटनरी टिमका सदस्यहरूको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS