काठमाडौं,६ फागुन-विश्वव्यापी रुपमै लोकप्रिय एप ‘शेयर इट’ मा सुरक्षा कमजोरी फेला परेको छ । साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रोले तीन महिनासम्म गरेको एक अध्ययनपछि यो एपको एन्ड्रोइड भर्सनमा गम्भीर खालका सुरक्षा कमजोरी भएको तथ्य बाहिरिएको हाे ।अध्ययन प्रतिवेदन अनुसार गलत प्रवृत्तिका ह्याकरले एपमा सजिलै पहुँच प्राप्त गरी प्रयोगकर्ताको डेटा चोर्न सक्नेछन् । ‘ह्याकरहरूले यो एपमा मालवेयर इन्फेक्टेड कोड प्रयोग गरेर डेटा हाइज्याक गर्न सक्दछन्,’ ट्रेन्ड माइक्राेका अनुसन्धानदाता एचाे दुअनले भने ।
याे सुरक्षा कमजोरीबारे कम्पनीले गुगललाई जानकारी दिइसकेको छ । यद्यपि गुगलबाट यस एपका लागि कुनै कदम चालिएको छैन । ट्रेन्ड माइक्रोले शेयर इट एपको कम्पनीलाई समेत यसबारे जानकारी दिएको छ । तर याे सुरक्षा त्रुटि समाधान गर्ने विषयमा उसले केही प्रतिक्रिया दिइसकेको छैन ।
यसकारण अहिलेका लागि उत्तम उपाय भनेकाे तत्कालै फाेनबाट याे एप अनइन्स्टल गर्नु नै हाे । शेयर इटले प्रयोगकर्ताको फोनको स्टोरेज, क्यामेरा, माइक्रोफोन, लोकेशन आदिबारे सूचना लिने गरेको छ । साथै एपमा लगईन गरेर प्रयोगकर्ताले थुप्रै काम गर्न सक्छन् ।
यस्तो अवस्थामा ह्याकरले सबै डेटामथि पहुँच प्राप्त गर्दा फाेनमा रहेका संवेदनशील डेटा दुरूपयाेग हुने सम्भवना रहन्छ ।हाल यो एपका विश्वभर १८० करोड प्रयोगकर्ता रहेका छन् ।
FACEBOOK COMMENTS