काठमाडौं, ७ फाल्गुन – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोपको अभावको कोभिड-१९ खोप अभियान प्रभावित हुन नदिने बताएका छन्। स्वास्थ्य मन्त्री त्रिपाठीले ललितपुरस्थित स्टार अस्पतालको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) को उद्घाटनका क्रममा पहिलो प्राथमिकतामा कोभिड खोप, दोस्रोमा प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण र तेस्रोमा स्वास्थ्य सेवाको कर्मचारी समायोजनको विषयलाई राखेको बताए।
उनले भने,‘एकै पटक धेरै ठाउँमा हात हाल्दा कुनै पनि काम सफल नहुने भएकाले कामको प्राथमिकता निर्धारण गरेको हुँ।’
उनले कोभिड खोप अभियानको पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका जनप्रतिनिधिले कम संख्या खोप लगाएको जानकारी दिँदै त्यसले आफुलाई अचम्मित बनाएको बताए।
‘जनप्रतिनिधिले किन खोप लगाउनुभएको छैन। कि उहाँहरुले चुनाव जितिसक्यौं, सरकारले ल्याएको खोप नलगाउने भन्नुभएको हो कि?’ उनले भने। उनले सरकारले खरीद गरेको खोप दुईसाता भित्र नेपाल आइपुग्ने जानकारी दिएका छन्।
उनले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेकाले यसबाट बच्ने अर्को विकल्प नभएको भन्दै प्राथमिकतामा परेका सबैलाई खोप लगाउन आग्रह गरे।
अर्को फरक प्रसंगमा बोल्दै स्वास्थ्यमन्त्री त्रिपाठीले चिकित्सक संघ र अफिनले चिकित्सकको परामर्श शुल्क बढाएको विषयमा पनि आपत्ति जनाए।
उनले भने,‘यो कुनै एक, दुई संस्था मिलेर शुल्क बढाउने विषय होइन। शुल्क बढाउन आवश्यक भएपनि अधिकार भएको संस्थाले निर्धारण गर्ने विषय हो।’
FACEBOOK COMMENTS