काठमाडौं, ७ फागुन – महिला लिगमा सावित्रा भण्डारीले उत्कृष्ट फरवार्डको उपाधि जितेकी छन्।सशस्त्र प्रहरीको विभागीय टिम एपीएफकी फरवार्ड सावित्रा भण्डारीले शुक्रबार भएको खेलमा उत्कृष्ट फरवार्डको उपाधि जितेकी हुन्। उनले जारी लिगमा ४३ गोल गरेकी छन्।
‘पहिले त गन्द्याङगुन्द्रुङमा पनि गोल गरिन्थ्यो अहिलेचाहिँ धेरै राम्रा गोल भएका छन्,’ अवार्ड जितेपछि उनले भनिन्, ‘अहिले खेलको स्तर वृद्धि भएको पाएकी छु। नयाँ खेलाडीले मोर्डन फुटबल खेलिरहेका छन्। मेरो टिमको सहयोगले गर्दा म बेस्ट भएँ।’
उनका अनुसार अब विभागबाहिरका टिमले पनि विभागलाई चुनौती दिने भइसकेका छन्।
‘पहिले लिगमा २०–२२ गोल हुन्थ्यो। अहिले ७–८ गोलमा झरेको अब झन् प्रतिस्पर्धी बन्दै जाने आशा छ,’ उनले भनिन्। १० औं चरणको खेलका क्रममा पुलिसविरुद्ध ६९ औं मिनेटमा घाइते भएपछि सावित्रा अहिले आराममा छिन्।
साथै उनले लिगमा त्यसपछिका खेल खेल्न पाएकी छैनन्। तर उनी बैसाखी टेकेरै आफ्नो टिमलाई हौसला दिनका लागि दशरथ रंगशाला पुगेकी थिइन्।
‘म नभएको समयमा पनि मेरो टिमले मैले सोचेजस्तै खेल्यो। टिमले मेरो कमी हुन दिएन। म नहुँदा प्रतिस्पर्धीलाई केही सहज हुन्थ्यो होला तर टिमले राम्रो खेल्यो,’ उनले भनिन्।
एपीएफकी प्रशिक्षक भगवती थापाले पनि सावित्रा घाइते भएपछि बाँकी खेलमा कठिन हुने बताएकी थिइन्।
त्यसपछि विराटनगरसँगको खेलमा एपीएफले १–० गोलको जित निकालेको थियोे भने अन्तिम खेलमा आर्मीविरुद्ध शून्यका विरुद्ध तीन गोलको जित निकाल्यो।
पहिलो लेगको खेलमा एपीएफले आर्मीविरुद्ध २–० गोलको जित निकालेको थियो भने विराटनगरविरुद्ध ८–० गोलको जित निकालेको थियो।
सावित्राले चौदण्डीगढीविरुद्ध एकै खेलमा ह्याट्रिकसहित १२ गोल गरेकी थिइन्।
FACEBOOK COMMENTS