काठमाडौं, फागुन ८ – तेह्रौं दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जित्न सफल पौडीकी गौरिका सिंह र दुई स्वर्ण पदक विजेता करातेका मन्देकाजी श्रेष्ठ एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले शनिबार भक्तपुरमा आयोजना गरेको अवार्ड कार्यक्रममा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ सर्वोत्कृष्ट घोषित भएका हुन्।
२६ वटा खेल संघले सिफारिस गरेको खेलका खेलाडीबीचबाट नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट चुनेको हो। सर्वोकृष्ट भएका गौरिका र मन्देकाजीले समान एक लाख रूपैयाँ नगद प्राप्त गरे।
१३ औं सागमा फुटबलले स्वर्ण पदक जित्दा टीमको कप्तान सुजल श्रेष्ठ र तेक्वान्दोमा दुई स्वर्ण पदक विजेता आयशा शाक्य प्रतिभावान खेलाडी घोषित भए। सुजल र आयशाले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जिते।
यो वर्षबाट समावेश गरिएको उदीयमान खेलाडी अवार्डबाट पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामी सम्मानित भए। सुवास र संगिताले पनि समान ५० हजार रूपैयाँ नगद प्राप्त गरे।

पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकबर शाह सम्मानित भए। शाहले ३५ हजार रूपैयाँ प्राप्त गरे। शाहले पुरस्कारबाट प्राप्त रकम बोसिगाउँ करातेलाई हस्तान्तरण गरे। टेबलटेनिसका केशव थापा पारा एथलेटिक अवार्डबाट सम्मानित भए।

त्यसबाहेक २६ खेलका उत्कृष्ट खेलाडीलाई ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मानित गरियो। सबै २६ खेलाडीले समान १० हजार रूपैयाँ नगद प्राप्त गरे।

एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भए। राउतले २५ हजार रूपैयाँ प्राप्त गरे।