काठमाडौँ, फागुन १० – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टी सरकारको नेतृत्वमा पुग्नासाथ अहिलेका प्रमुख पार्टीका नेतृत्वहरुलाई जेलमा पुर्याउने चेतावनी दिएका छन् । काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई नख्खु जेलमा पुर्याउने चेतावनी दिएका हुन् ।
‘सम्भवत प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार बस्ने अधिकार छैन बालकोट फर्कनु पर्छ । प्रमुख प्रतिपक्षी दलका नेतालाई लागेको होला अदालतले मनले चाहे अनुसारको फैसला दिन्छ चुनाव हुन्छ, केपी ओली अत्यन्त अलोकप्रिय छन् मेरो पार्टीले चुनाव जित्छ र म ज्योतिषलाई साइत हेराएर बुढानीलकण्ठबाट बालुवाटार आउँछु भन्ने लागेको होला,’ उनले भने, ‘त्यो कुनै सम्भावना देखिँदैन । अर्काे नेता (दाहाल) लाई लागेको छ छिमेकीले सहयोग गर्दियो भने म सत्तारोहणमा लागिहाल्छु । त्यो पनि त्यति सम्भावना देखिएको छैन ।’
उनले विवेकशील साझा पार्टी सत्तामा पुगेपछि कानुनी प्रक्रिया पुरा गरेर ओली, देउवा र दाहाललाई जेल हाल्ने चेतावनी दिए । ‘आज होला भोली होला, या पर्सी होला, विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ । यो देशको नेतृत्वमा पुग्छ पुग्छ,’ उनले भने, ‘यो देशको नेतृत्वमा पुगेपछि बालुवाटारबाट बालकोट जानु भएको नेतालाई हामी सबभन्दा पहिले अख्तियारमा उपचार गर्छाैँ । त्यसपछि आराम गर्नको लागि नख्खु जेलको चौरमा पुर्याउँछौँ । जिन्दगीभर उहाँले त्यहाँ आराम गरेर बस्नु पर्नेछ । किन भने उहाँलाई राष्ट्रघाती रोग लागेको छ त्यो रोगको उपचार गराउनु छ ।’
उनले देउवालाई इंकित गर्दै भने, ‘पहिले हामी सत्तामा पुगौँ त्यसपछि सबभन्दा पहिले अख्तियारले तपाइँको (देउवा) राष्ट्रघाती चरित्रको उपचार गर्छ । त्यसपछि तपाइँ पनि नख्खुमा चौरमा घाम ताप्न जानुपर्नेस्थिती आउँछ ।’ मिश्रले नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालमाथि हत्या हिंसाको नेतृत्व गरेको भन्दै आक्रोश पोखे । ‘त्यस्तै गरी अर्काे नेता (पुष्पकमल दाहाल) जसको नेतृत्वमा यो देशमा धेरै हिंसा भएको छ, हत्या भएको छ उहाँलाई पनि सम्भवतबाट खुमलटारबाट नख्खुमै जानुपर्ने अवस्था सिर्जना हुन्छ,’ मिश्रले भने, ‘खुमलटारबाट, बुढानीलकण्ठबाट र बालकोटबाट हामी सिधै नख्खुमा लगेर हाल्छौँ भनेका छैनौँ । हामी कानुनी प्रक्रिया पुरा गर्छाैँ । त्यो कानुनको सीमा के हुँदो रहेछ भनेर उहाँहरुले बुझ्नु हुनेछ ।’
FACEBOOK COMMENTS