काठमाडौँ, फागुन १९ –न्युजिल्यान्ड–अस्ट्रेलिया ५ खेलको टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली अस्ट्रेलिया विजयी भएको छ । उसले बुधबार घरेलु टोली न्युजिल्यान्डमाथि ६४ रनको सहज जित दर्ता गरेको हो ।अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो ।
उसका लागि मार्टिन गप्टिलले ४३ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । ८.४ ओभरमा एडम जाम्पाले एस्टोन अगरबाट क्याच गराउनुअघि उनले ले २८ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।डिभोन कोनवेले ३८, मार्क चेपमनले १८ रनको योगदान दिए ।अस्ट्रेलियाका लागि एस्टोन अगरले ६, राइली मेरिडिथले २, एडम जाम्पा र केन रिचर्डसनले समान १–१ विकेट हात पारे ।
वेलिंग्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०८ रनको योगफल तयार पारेको थियो ।अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र कप्तान आरोन फिंचले अर्धशतकीय पारी खेले । अठारौं ओभरको अन्तिम बलमा टिम साउदीले टिम सिफर्टबाट क्याच गराउनुअघि म्याक्सवेलले ३१ बलको सामना गर्दै ८ चौका र ५ छक्काको मद्दतमा ७० रन प्रहार गरे ।१५.५ ओभरमा इस सोढीले काइल जिमसनबाट क्याच गराउनुअघि फिंचले ४४ बलमा ८ चौका र २ छक्काको मद्दतले ६९ रन बनाए । जोस फिलिपेले ४३ रनको योगदान दिए ।
न्युजिल्यान्डका लागि इस सोढीले २, टिम साउदी र ट्रेन्ट बोल्टले समान १–१ विकेट हात पारे । अस्ट्रेलियाको यो जितसँगै सिरिज २–१ को अवस्थामा पुगेको छ । न्युजिल्यान्डले पहिलो खेल ५३ र दोस्रो खेल ४ रनले आफ्नो पक्षमा पारेको थियो । चौथो खेल मार्च ५ मा साविककै मैदानमा हुनेछ ।
FACEBOOK COMMENTS