काठमाडौँ, फागुन १९ – समयमै उपचार गरे ६० प्रतिशत बालबालिकालाई बहिरोपनको समस्याबाट बचाउन सकिने श्रवण विज्ञहरुले बताएका छन्।
विश्व श्रवण दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले समयमै उपचार गरे ६० प्रतिशत बालबालिकालाई बहिरोपनको समस्याबाट बचाउन सकिने बताए।
नेपालमा १५ दशमलव ४ प्रतिशतमा श्रवण तथा ११ दशमलव ५ प्रतिशतमा बोलीको समस्या रहेको उनले जानकारी दिए। ध्वनि प्रदूषणका कारण श्रवण सम्बन्धी समस्या बढ्दै गएको उनको भनाई छ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकीले सरकारले यो सम्बन्धी विषयलाई प्राथमिकता दिएको बताए। यस वर्ष श्रवण समस्या सम्बन्धी बेस लाइन सर्भे गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
नाक, कान तथा घाँटी विशेषज्ञहरुको संघका अनुसार नेपालमा हाल करिब १ सय ९६ जना नाक, कान तथा घाँटी विशेषज्ञहरु छन्। जसमध्ये ७९ जना श्रवण तथा वाक विशेषज्ञहरु श्रवण क्षेत्रमा कार्यरत छन्। यी जनशक्तिहरु नेपालको जनसंख्याको अनुपातमा निकै कम भएकाले सरकारले यी क्षेत्रका जनशक्ति उत्पादनमा जोड दिनुपर्ने संघले जनाएको छ।
नाक, कान तथा घाँटी सम्बन्धी विशेषज्ञ सेवाहरु प्रदेश स्तरमा पनि उपलब्ध गराउनुपर्ने, विभिन्न योजना बनाउँदा श्रवण सम्बन्धी सेवा श्रवण परीक्षण, उपचार, पुर्नस्थापना सर्वसाधारणको पहुँचमा पुग्ने गरी बनाउनुपर्ने संघको माग छ।
विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार विश्वभर ४६ करोड ६० लाख मानिसमा श्रवण अपाङ्गता छ। यो संख्या सन् २०५० सम्म ९० करोड पुग्ने संगठनको अनुमान छ।
FACEBOOK COMMENTS