काठमाडौं, २० फागुन- दुग्ध विकास संस्थान (डीडीसी) ले भिटामिन र क्याल्सियमको सन्तुलनयुक्त दूध नयाँ वर्षको पहिलो दिनदेखि बजारमा ल्याउने भएको छ । डीडीसीले आगामी वैशाख १ बाट थप नयाँ उत्पादनका रुपमा ‘फोर्टिफाइड मिल्क’ ल्याउन लागेको संस्थाका प्रबन्धक निर्देशक रुद्र प्रसाद पौडेलले बताए । यो दूध हालका लागि संस्थानले उपत्यकामा मात्र बिक्री गर्न लागेको हो ।
नयाँ फोर्टिफाइड दूध संस्थानले बजारको माग अनुसार उत्पादन गर्ने बताएको छ । यद्यपि सुरुआतमा यो दैनिक दुई हजारदेखि पाँच हजार लिटरसम्म उत्पादन गर्ने र माग अनुसार बढाउँदै लैजाने पौडेलको भनाइ छ ।
अन्य देशबाट माग आए संस्थानले यो दूध निर्यात समेत गर्ने योजना रहेको उनले बताए । यस्तै, रेफ्रिजेरेटर भ्यान खरिद गरी उपत्यकाबाहिर पनि यो दूध पठाउन सक्ने संस्थानको भनाइ छ ।
पछिल्लो समय व्यस्त जीवनशैलीले घर-अफिस मात्रै गर्दा खासगरी शहरबासीहरुको खानपिनको सन्तुलन र शारिरीक सक्रियता कम हुँदै गएकाले विभिन्न शरिरीक समस्याहरु देखिन थालेका छन् । यसको प्रमुख कारण शरिरलाई आवश्य पर्ने भिटामिन र क्यालसियमको सन्तुलन नमिल्नु पनि भएकाले यसलाई निराकरण गर्नेगरि फोर्टिफाइड दूध उत्पादनको योजना बनाएको पौडेलले बताए । ‘यो दूधबाट उपभोक्तालाई लाभ मिल्ने हामीले अनुमान गरेका छौं,’ उनले भने ।
आधा लिटरको प्याकमा उपलब्ध हुने फोर्टिफाइड दूध बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका लागि उपयुक्त हुने डीडीसीले जनाएको छ । यद्यपि अहिलेसम्म यसको मूल्य तय गरिसकेको छैन । उत्पादन सुरु गरेपछि मूल्य निर्धारण हुने पौडेलले बताए ।
हाल बजारमा पाइरहेको जस्तो सामान्य फ्रेस दूधमा भिटामिन र क्यालसियमको अनुपात मिलाएर फोर्टिफाइड दूध उत्पादन गरेर बजारमा ल्याउन लगेको हो । जसमा फ्याट, भिटामिन ए र बी सहित क्यालसियम मिसाइने बताइएको छ । साथै उक्त दूधमा एसएनएफ सोलिड नट प्याक्ट पनि समावेश रहेको छ । संस्थानका अनुसार मिल्कमा फ्याट ३.५ प्रतिशत, एसएनएफ ८ .५ प्रतिशतको संमिश्रण हुनेछ ।
हाल संस्थानले प्रशोधित दूधहरुमा स्टयान्डर्ड, होल मिल्क, काउ मिल्क र टि मिल्क उत्पादन तथा बिक्री गर्दै आएको छ । यीमध्ये स्टयान्डर्ड दूधमा तीन प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ, होल मिल्कमा ५ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ रहने गरेको छ ।
यसअघि संस्थानले सिधै किसानहरुबाट खरिद गरेको दूधमा फ्याटको मात्रा मात्र जाँच गर्ने गरेको थियो । उक्त दूधमा केही पनि नमिसाई प्रशोधन गरेर डीडीसीले बजारमा बिक्री गर्दै आएको छ ।
दूधबाटै उपभोक्तालाई धेरै प्रोटिनहरु दिन सक्नेगरि नयाँ उत्पादन ल्याउनुका साथै अन्य कामहरु पनि गर्न लागेको पौडेलको भनाइ छ । संस्थानले दुग्ध उत्पादनका लागि पूर्वाधारहरु तयार पार्ने गृहकार्य गरिरहेको छ । यसका लागि आवश्यक भिटामिन डी सप्लिमेन्ट, क्याल्सियम लगायतको समेत उत्पादन गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS