काठमाडौँ ,फाल्गुन २२- खानीजन्य पदार्थको उत्खनन्, पूर्वाधार विकासमा इन्जिनियरिङ भू–गर्भ विज्ञान, प्रकोप व्यवस्थापन र विपद् जोखिम न्युनिकरणलगायतका विषयमा छलफल गर्न नेपालसहित विभिन्न देशका भूगर्भविद्हरु आइतबारदेखि जुट्दैछन् ।
नेपाल भौगर्भिक समाजले आयोजना गर्न लागेको दसौं भौगर्भिक सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, पोल्यान्ड, भारत, पाकिस्तान, बगंलादेश, म्यान्मारलगायत देशका वैज्ञानिक, अनुसन्धानकर्ता र सरकारी अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने संयोजक भूगर्भविद् सुवोध ढकालले बताए ।
“दिगो विकास र समृद्धिका लागि भू–विज्ञान” नाराका साथ हुने सम्मेलनमा भूकम्पीय जोखिम, जोखिम न्यूनीकरण, कोभिड–१९ र यसको असरलगायतका विषयमा ८० वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
समाजले प्रत्येक २ वर्षमा यस्तो सम्मेलन गर्दै आएको छ । कोभिड–१९ महामारीबीच यो सम्मेलन भर्चुअल हुने भए पनि उद्घाटन सत्र भने काठमाडौंको एक होटलमा हुनेछ ।
कोभिड–१९ महामारीको सन्त्रासका बाबजुद विभिन्न देशका वैज्ञानिक र अनुसन्धान कर्ताहरुले उत्साहका साथ यस सम्मेलनमा भाग लिनु नेपाल भौगर्भिक समाजप्रति मात्र नभई नेपालप्रतिकै सम्मानको रुपमा लिइएको छ ।
पहिरोको जोखिम, जोखिम पत्ता लगाउन आवश्यक अनुसन्धानलगायतका विषयमा अमेरिका, जापान र भारतका प्राध्यापकहरुले प्रस्तुति दिनेछन् ।
FACEBOOK COMMENTS