 
			                  			              
काठमाडौँ ,फाल्गुन २२- युट्युबमा ताण्डव भनेर खोज्दा पाइने एउटा नृत्य २५ करोडभन्दा बढी पटक हेरिएको देखिन्छ। अर्को एउटा ताण्डव साढे नौ करोडभन्दा बढी पटक हेरिएको छ।
अन्य कैयौँ ताण्डव नृत्य पनि करोडौँ पटक हेरिएको छ। लय, शब्द र शैली फरक भएका तर डमरुको डमडम आवाज र ऊर्जायुक्त थरी-थरीका ताण्डव नृत्य युट्युबमा टन्नै छन्।
धर्मशास्त्रका जानकारहरू ताण्डवलाई भगवान् शिवसँग जोड्छन्।
यसैकारण शिवरात्रि नजिकिएका बेला ताण्डव नृत्य खोज्नेहरूको सङ्ख्या निकै बढ्ने गरेको छ।
धर्मशास्त्रका जानकार तथा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेल भन्छन्, “शिव ताण्डवलाई ब्रह्माण्डको सृष्टि मानिएको छ। प्रोटोन, न्युटन जस्ता भौतिक पदार्थहरूको क्रिया-प्रतिक्रिया नै ताण्डव हो।”

धर्मशास्त्रका अनुसार शिव ताण्डव भनेको शिवले गर्ने नृत्य हो।

प्राचीन कथ्य उल्लेख गर्दै पौडेल भन्छन्, “पाणिनीले शिवको तपस्या गर्दा गर्दा पाणिनीलाई शिव ताण्डवमार्फत व्याकरणको सिद्धि प्राप्त भएको थियो।”

उनी भन्छन्, “शिवजीले बोल्नुपर्दैन। डमडम, डमडम, डमडम गरेपछि कसैलाई ज्ञान प्राप्त हुन्छ, कसैलाई भक्ति प्राप्त हुन्छ।”

पौडेल भन्छन्, “अनन्तकालदेखि भएको सृष्टिलाई ताण्डवले बताउँछ। शिवको नाच भनेको त्यही हो।”

पौडेलका अनुसार तन्त्र शास्त्रहरूमा ताण्डवको बृहत् वर्णन छ। अन्य धर्मशास्त्रमा पनि ताण्डवको वर्णन छ।
भगवान् शिवले हरेक कुरा सृष्टि गर्दा ताण्डव गर्छन् भनिने पौडेलले बताए।
भगवान् शिवलाई खुसी राख्न चाहनेले पनि ताण्डव गर्ने गरेको देखिन्छ।
महान् शिवभक्त भनिने ‘राक्षसराज’ रावणले रचना गरेको शिवताण्डवस्तोत्रम्को चर्चा निकै हुने गरेको पौडेलले बताए।
धर्मशास्त्रका जानकारहरू शिव ताण्डव नृत्यमा र पार्वती लाक्षामा पारङ्गत भएको र उनीहरू नै सबभन्दा राम्रा नर्तक रहेको मान्छन्।
पौडेलका अनुसार धर्मशास्त्रको व्याख्या एकातिर छ, आधुनिक समयमा ताण्डवलाई शास्त्रीय नृत्यका रूपमा सिकाउने गरिएको छ।
शास्त्रीय नृत्यका जानकार सुरेश मिश्र आफैँ ताण्डव गर्छन् र अरूलाई सिकाउँछन्।
नृत्य, गायन र वादनमा आफ्नो परिवार दशौँ पुस्तादेखि संलग्न रहेको बताउने मिश्रले बच्चैदेखि बाबुबाजेबाट ताण्डव सिकेको बताउँछन्।
भारतमा नृत्य विषयमा एमए गरेका मिश्र शास्त्रीय नृत्यमा थरी-थरीका ताण्डव रहेको र आफूले तिनैका आधारमा सिकाउने गरेको बताउँछन्।
उनका अनुसार वीर ताण्डव, रौद्र ताण्डव, शृङ्गार ताण्डव, राक्षसले गर्ने ताण्डव, क्रोध ताण्डव, संहार ताण्डव र उमा ताण्डव गर्ने गरिन्छ।
ताण्डव गर्दा आफ्नो सृजनात्मक अभिव्यक्तिमार्फत भावभङ्गीमाले कुरा बुझाउन सक्नुपर्ने मिश्रको भनाइ छ।
तर धर्मशास्त्रका कतिपय जानकार शिव ताण्डव मात्र ताण्डव रहेको मान्छन्।
विदुर पौडेल भन्छन्, “ब्रह्मा र विष्णुले पनि बेलाबखत नाच्छन् तर तिनलाई ताण्डव भनिँदैन। शिवजीको ताण्डव मात्र विशुद्ध ताण्डव हो। शिवजीले गर्ने सृजना हो ताण्डव।”
ताण्डवबारे फरक-फरक विश्लेषण र धारणामा कोही सहमत होलान्, कोही नहोलान् तर पद्मकन्या क्याम्पसमा नृत्य पढाएर हालै अवकाश पाएका मिश्रको एउटा भनाइसँग सम्भवतः सबै सहमत हुन सक्छन्- “ताण्डव अरूभन्दा फरक छ। ताण्डव गर्न विशेष ऊर्जा चाहिन्छ।”
भगवान् शङ्कर ताण्डव स्वरूपको प्रवर्तक हुनुहुन्छ। शिवलाई नटराज भन्ने कारण ताण्डव नाच नै हो।
संस्कृतमा ताण्डव शब्दको अर्थ उग्र, स्वच्छन्द वा नियन्त्रणरहित भन्ने हुन्छ। यद्यपि शास्त्रहरूमा दुर्गा ताण्डव, भैरव ताण्डव र राम ताण्डवको समेत वर्णन छ।
महिषासुरमर्दिनी दुर्गाले महिषासुरको वध पछि र भगवान् श्रीरामले रावण विजय पश्चात् ताण्डव गरेको प्रसङ्ग पाइन्छ। तर ताण्डव नृत्यले मूलतः नटराज शङ्करकै नृत्यको प्रसिद्धि रहेको छ।
वीर तथा बीभत्स रस मिसिँदा ताण्डव हुने हो। भाषिक लबजले वा शाब्दिक प्रयोगधर्मिताले ताण्डवभन्दा एक प्रकारको उपद्रो वा उद्दण्डताको विम्ब दिमागले जनाउँछ।
तर ताण्डव नाच प्रकृतिको सुन्दर आराधना हो। यसले विचारको वा मस्तिष्कको सम्पूर्ण उद्घाटन हुने र समग्रमा हाम्रो प्राज्ञिक क्षितिजलाई फैलाउने काम गर्दछ।
नृत्यमा ताण्डव नृत्य र युद्धमा पाण्डी युद्धले नै नवीन युगको सुरुवात हुने धर्मविद्हरू भन्ने गर्छन्। ऊर्जा र चैतन्यको प्रकटीकरण ताण्डव नृत्यले गर्दछ।
FACEBOOK COMMENTS