काठमाडौं, फागुन २३ – मोरङको उर्लाबारीका प्रवीण बास्तोला मृत्यु प्रकरणमा मुख्य आरोपित दुईजना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोप लागेका सबै ६ जनालाई नै पक्राउ गरेको छ ।
पक्राउ गरिएकामध्ये दुईजना जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेका छन् । दुई जनालाई पुर्पक्षमा पठाइएको छ । बाँकी दुई जनालाई भने प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी आइतबार सार्वजनिक गरेको छ । उर्लाबारी नगरपालिका ५ का ३२ वर्षीय बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा ६ जनाविरुद्ध नै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको छ ।
मुख्य आरोपित फरार प्रतिवादी झापा दमक नगरपालिका १० का ३३ वर्षीय राजेश रणपहेली र झापा गौरादह नगरपालिका ९ बैगुन्धुराका दीपेश पौडेल पक्राउ परेको प्रहरीको भनाइ छ । रणपहेली बुटवल र पौडेल झापाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
यसअघि मोरङको कानेपोखरी गाउँपालिका ७ रमाइलोका १९ वर्षीय सुदीप परियार र रतुवामाई नगरपालिका १० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी पक्राउ परेका थिए । उनीहरू जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षमा छन् । उर्लाबारी ९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी ६ का ६० वर्षीय रमेश गिरी धरौटी बुझाएर छुटेका छन् ।
गिरीको घरमा डेरा बस्ने साथीहरूको कोठामा अघिल्लो रात सुत्न गएका बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भई शव स्थानीय होटलमा फेला परेको थियो ।
हत्या भएको दाबी गर्दै प्रहरी र स्थानीयले अनुसन्धानमा हेलचेक्राईं नगर्न भन्दै आन्दोलन गरेका थिए । उनीहरू प्रदर्शन गर्न प्रदेश राजधानी विराटनगरसमेत आएका थिए । मोरङ प्रहरीले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
FACEBOOK COMMENTS