काठमाडौं, फागुन २४ – सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको नेकपा पनि खारेज भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्र अलग–अगल पार्टी भएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमसँग नेकपा दुई समूहमा विभाजित भएको थियो । दुवै समुहले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गरिरहेको बेला सर्वोच्च अदालतले नेकपा कट्टेलले पाउने फैसला गरेसँगै नेकपामा तरंग पैदा भएको छ । सर्वोच्चको फैसलालाई तत्कालीन दल नेकपा एमालेले स्वागत गरेको छ भने नेकपा माओवादी केन्द्रले कानुनी उपचार खोज्न परामर्श अगाडि बढाएको छ ।
सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा फर्काएपछि सबैभन्दा बढी नैतिक संकटमा माधवकुमार नेपाल, झलनाथ खनाल समूह परेको छ ।ओलीसँग रुष्ट हुँदै प्रचण्डलाई साथ दिँदै आएका पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । सर्वोच्चको फसैलाप्रति टिप्पणी गर्दै प्रचण्ड नेपाल समूहले जबरजस्ती गरे राम्रने नहुने चेतावनी दिएको छ । सिंहदरबारमा कानुन व्यवसायीसँग गरेको छलफलपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको फैसला बढी राजनीतिक भएको प्रक्रिया दिनुभयो ।
‘सर्वोच्चको फैसला बढी राजनीतिक प्रवृत्तिको भयो भन्ने छ । त्यसको आधारमा भोलि स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय गर्छौं । हामीले यस्तो अपेक्षा गरेका थिएनौं । जबरजस्ती जोेड्न खोजियो भने राम्रो हुँदैन।’ –उहाँले भन्नुभयो ।त्यसैगरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो । आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले २०७५ जेठ ३ गतेअघिकै पार्टीलाई मान्यता दिएको बताउनुभयो ।
सर्वोच्चले पार्टी एकता गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनको प्रक्रिया पूरा गरेर आउनु भनेकोले त्यसका लागि समेत छलफल गर्ने उहाँले बताउनुभयो । सर्वोच्च अदालतको नेकपाको एकीकरण खारेजीको निर्णयसँग संसद्मा चारवटा दल अस्तित्वमा आएका छन् ।
FACEBOOK COMMENTS