काठमाडौँ, फागुन २५ – कुमारी इक्विटी फण्डको इकाई खरिदका लागि फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने भएको छ । यस फण्डले फागुन १४ गते प्रतिइकाई रू. १० अंकित मूल्यको रू. ८० करोड बराबरको ८ करोड इकाई विक्री खुला गरेको हो । छिटो अवधि फागुन १८ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि फागुन २८ गतेसम्मको मिति तय गरेको क्यापिटलले मागभन्दा बढी आवेदन परिसकेकाले फागुन २५ गतेसम्म मात्र विक्री खुला गर्ने बताएको हो ।
कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यस फण्डले कुल इकाईमध्य कोष प्रबर्धकको रुपमा रहेको कुमारी बैंकलाई १५ प्रतिशत दरको १ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले सञ्चालन गर्न लागेको यो सामूहिक लगानीकोष योजना बन्दमुखी योजना हो ।
इकाई विक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । इकाई खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै , मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्तादेखि अधिकतम ८० लाख कित्तासम्म माग गर्न सकिनेछ ।
१० वर्षे अवधिको यो इकाई बाँडफाँट भएको मितिले दश वर्षपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानुन बमोजिम बाँडफाँट गरिनेछ । योजनाको सम्पूर्ण इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कारोबार गर्न सकिने व्यवस्था गरिने समेत कोष व्यवस्थापक कुमारी क्यापिटलको भनाई छ ।
FACEBOOK COMMENTS