काठमाडाैं, फागुन २८ –युनिलिभर नेपाल लिमिटेडले घरेलु हिंसाप्रति मौनताको अन्त्यका लागि ‘अनम्युट’ अभियानमार्फत घरेलु हिंसाविरुद्ध शिक्षा, सचेतना एवं स्रोतमा सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।
कम्पनीले यो अभियानअन्तर्गत आफ्ना महिला कर्मचारी तथा तिनका परिवारका सदस्यका लागि समेत टोल-फ्री हेल्पलाइन, गैरसरकारी संस्था सेवाहरूको परामर्श र पहुँच, तथा प्रभावितहरूका लागि ‘सुरक्षा बिदा’ सुविधा, लचिलो कार्य समयजस्ता सुविधा प्रदान गर्ने जनाएको छ ।यसरी आफ्ना कर्मचारीलाई घरेलु दुर्व्यवहारबाट जोगाउन र सहयोग गर्न घरेलु हिंसा र दुर्व्यवहारविरुद्धको नीति नै बनाउने सम्भवतः पहिलो कम्पनी भएको युनिलिभरले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपालभर घरेलु दुर्व्यवहारका घटनामा भएको उल्लेख्य वृद्धिलाई रोक्न ‘अनम्युट’ अर्थात् खुलेर आफ्ना अनुभव व्यक्त गर्न आवश्यक रहेको बताए । यो परिवर्तन हेर्न चाहने सबैले आ-आफ्ना ठाँउबाट स्वतस्फूर्त रूपमा स्वयंसेवकको भूमिका खेल्नुपर्नेसमेत उनले बताए ।
चेलीबेटी बेचबिखन र महिला हिंसाविरुद्धको अभियानका मुख्य अभियन्ता तथा समाजसेवी अनुराधा कोइरालाले थाहै नपाई समाजमा धेरै घरेलु हिंसा भइरहेको बताइन् । घरेलु दुव्यवहारबाट गुज्रिरहेकाको समस्या पहिचान गर्न हाम्रो सामाजिक बनोटको कारणले पनि निकै कठिन भएको उनले बताइन् ।
FACEBOOK COMMENTS