काठमाडाैं, फागुन २८ – नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुबै बैंकको डीडीए सकिएको छ भने मर्जरको समझदारी पत्र (एमओयु) मा हस्ताक्षर हुने तयारी भएको छ । दुई बैंकको डीडीए प्राप्त भएको र अब चाढै नै एमओयुमा हस्ताक्षर हुने हिमालयन बैंक स्रोतको जानकारी दिएको छ ।
बैंकको सेयर अनुपात १ बराबर १ नै हुने भनिएको छ । स्रोतका अनुसार मर्जरपछि बैंकको संचालक समिति अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे रहने बताइएको छ । नाम भने दुबै बैंकको पहिचान नगुम्ने गरि राखिने सहमति भएको छ ।‘समान हैसियतमा मर्जर हुने भएपछि दुबै बैंकको पहिचान जोगिने गरि नाम राखिन्छ होला, मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक पनि हुन सक्छ,’ स्रोतले भन्यो ।
बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने २ जना राख्ने गरी गृहकार्य अघि बढेको छ । हिमालयन बैंकका सिइओ अशोक राणा र नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ जोतिप्रकाश पाण्डे दुबै जना सिइओ राख्ने करिब सहमति भएको छ । यसरी २ जना सिइओ राख्दा एक जना वरिष्ठ सिइओ हुने बताइएको छ । वरिष्ठ सिइओको जिम्मेवारी हिमालयन बैंकका सिइओ अशोक राणाले पाउने बताइएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २५ अर्ब रुपैयाँ हुनेछ भने जगेडा कोषमा १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ ।
FACEBOOK COMMENTS