काठमाडौं, चैत ६ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केपी ओली र झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका गतिविधिले एमाले विभाजन हुने खतरा उत्पन्न भएको बताएका छन् । शुक्रबार खनाल–नेपाल पक्षले आयोजना गरेको अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसलापछि दुवै पक्षका गतिविधि त्यस्तो देखिएको बताएका हुन् ।
आफू एकताको पक्षमा रहेको भन्दै गौतमले खनाल–नेपाल पक्षका भेलामा पनि आफ्नो समर्थन नभएको दाबी गरे । तर, उनले खनाल–नेपाल पक्षको भेलाले पास गरेका केही प्रस्तावमा भने आफ्नो समर्थन रहेको बताए ।
भेलालाई सम्बोधन गर्दै गौतमले प्रधानमन्त्री केपी ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा जाने भएका पनि बताए । उनले भोलि प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठकमा आफू उपस्थित हुने भन्दै अन्य खनाल-नेपाल समूहका नेतालाई पनि सहभागी हुन आग्रह गरेका छन्।
‘भोलिको बैठकमा सबै जाऔं। म पनि जान्छु। त्यहीँ गएर ओलीविरूद्ध लडौं, पार्टीमा सबैले गुटबन्दी बन्द गरौं। नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ। त्यसकारण हामीले यसलाई जोगाउनुपर्छ’, उनले भने।
पछिल्लो समय पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली जिम्मेवार रहेको गौतमले बताएका छन् ।
FACEBOOK COMMENTS