काठमाडौं, १५ चैत – प्रर्दशनकारीमाथि म्यानमारमा सैनिकले गरेको बल प्रयोगको अमेरिकाले निन्दा गरेको छ । सुरक्षाकर्मीको गोलीबाट शनिबार मात्रै सयभन्दा धेरैको मृत्यु भएको छ, जसमा चार बालबालिका समेत रहेका छन् । त्यसबाट अमेरिका ‘त्रसित’ भएको अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले बताएका हुन्।
१ फेब्रुअरीमा गरिएको सैन्य कू पछिको सबैभन्दा बढी हताहत भएको दिन भएको छ। एक सय जना भन्दा बढी मानिस मारिएको बताइएको छ। ब्लिङ्कनले शनिवारको घटनाले सैन्य शासकहरू केही मानिसको फाइदाका लागि सर्वसाधारणको जीवन समाप्त पार्छन् भन्ने देखाएको बताएका छन्। बर्माका साहसी मानिसहरूले सैनिकहरूको आतङ्कित पार्ने किसिमको शासन अस्वीकार गरेका छन्। अमेरिकी दूतावासले त्यसअघि सुरक्षा फौजले ’निःशस्त्र सर्वसाधारणको हत्या गरिरहेको’ बताएको थियो।
संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले आफू ’स्तब्ध’ भएको बताएका छन्। ब्रिटिश विदेशमन्त्री डोमिनिक राबले त्यसको निन्दा गरेका छन्। चेतावनी दिंदादिंदै पनि प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिका सहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको हो।
मिङ्ज्ञान शहरका एक जना बासिन्दा थुया जले रोयटर्सलाई भने, ‘हाम्रा घरमा प्रवेश गरेर समेत उनीहरूले हामीलाई चरा वा कुखुरा मारे झैँ मारिरहेका छन्।’ १ फेब्रुअरीमा सैन्य ‘कू’ भए यता विरोध प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४ सय जना भन्दा बढीको मृत्यु भैसकेको छ। आङ सान सुकीको दल नेश्नल लीग फर डेमोक्रेशीले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको छ।
‘सशस्त्र बल दिवस’का अवसरमा शनिबार सेना प्रमुख मिन आङ लाइङले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले लोकतन्त्र रक्षा गरिरहेको र चाँडै निर्वाचन हुने दाबी गरेका छन् ।
‘हामी लोकतन्त्रकै रक्षाका निमित्त काम गरिरहेका छौँ, म्यानमारमा निर्वाचन हुनेछ,’ नेसनल टेलिभिजनबाट सम्बोधन गर्दै सेना प्रमुख मिन आङले भने । उक्त प्रसारणमा भनिएको थियो, ‘उनीहरूलाई टाउको वा ढाडमा गोली लाग्न सक्ने खतरा हुनसक्छ भन्ने मानिसहरूले पहिलेका खराब खाले मृत्युहरूको त्रासदीबाट सिक्नुपर्छ।’
सुरक्षा फौजहरू र्यालीहरू रोक्ने कोसिसमा थिए। क्याव विनले भने, ‘यो नरसंहार हो, अब यो कुनै कारबाहीका रूपमा मात्र रहेन।’ प्रत्यक्ष रूपमा गोली हानेरै देशभरिका ४० भन्दा बढी स्थानमा त्यस्ता कारबाहीहरू गरिएको बताइएको छ।
सेनाले अहिलेसम्म ती हत्याहरूबारे प्रतिक्रिया दिएको छैन। यसैबेला पूर्वी म्यान्मारको एउटा जातीय समूहले उसको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य जेटहरूले निसाना बनाएको बताएको छ। कारेन नेश्नल युनियनले थाई सीमा नजिकै एउटा सैन्य पोस्टमा आगो लगाएको खबर आएको केही घण्टाभित्रै उक्त सैन्य कारबाही भएको बताइएको छ।
FACEBOOK COMMENTS