काठमाडौं, चैत १७ – नेपाली युवाहरुले बनाएको लुडो एपले ५ करोड डाउनलोड पुरा गरेको छ । यार्सा गेमले बनाएको लुडोले भर्खरै गुगल प्ले स्टोरमा ५० मिलियन डाउनलोडको आँकडा पुरा गरेको हो ।
करिब ३ वर्षअघि बनेको यो एपमा करिब २ करोड सक्रिय तथा नियमित प्रयोगकर्ता रहेका छन् । जसमध्ये सबैभन्दा धेरै भारतमा रहेको लुडो निर्माता कम्पनी यार्सा गेमका सहसंस्थापक एनजे सुवेदीले जानकारी दिए ।
‘अहिले भारतमा मात्रै लुडोको डाउनलोड दुई करोडभन्दा बढी छ,’ उनले भने, ‘नेपालमा १० लाख र बाँकी अन्य देशका हुन् ।’ यार्साले लुडोसहित म्यारिज, कलब्रेक, रम्मी, धुम्मल, ड्राइभिङ स्कूल, सोलिटायर गरी हालसम्म एक दर्जनभन्दा बढी गेम बनाइसकेको छ ।
पोखरामा रहेको यो गेमिङ कम्पनीले बजारमा त्यस अघि नै रहेका गेमहरुसँग प्रतिस्पर्धा गर्दै यो सफलता हात पारेको हो । एक्लै हुँदा होस् वा परिवार, साथीभाइमाझ हुँदा, लुडो एउटा लोकप्रिय गेम बनेको छ ।
गेमका प्रयोगकर्ता किशोर तथा बालबालिकाभन्दा पनि मध्यम उमेर समूहका छन् । ‘हामीले एकदमै गज्जबका फिचर राखेर यो एप बनाएका थिएनौं,’ एनजे भन्छन्, ‘लुडोमा सामान्य तथा सजिलो लाग्ने यूआई यूएक्स छ । यही सरलपन धेरैले रुचाइदिनु भएको छ ।’
FACEBOOK COMMENTS