काठमाडौं, चैत १८ – प्युठान अस्पतालले सेवा विस्तार गर्दै लगेको छ। बिरामीको सेवालाई मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार गर्दै लगेको हो। अस्पतालमा मंगलबारदेखि थाइराइड परीक्षण सेवा सुरु भएको छ।
अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले थाइराइड परीक्षण मेसिनको औपचारिक उद्घाटन गरेका हुन्। थाइराइड परीक्षण सेवाको उद्घाटनपछि आचार्यले भने ‘बिरामीले सहज रुपमा सेवा पाउने भएका छन्। क्रमश अन्य सेवा विस्तारमा जोड दिनेछौँ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नविन दर्नालका अनुसार लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा थाइराइड परीक्षण मेसिन ल्याइएको हो। करिब २० लाखको लागतमा उक्त मेसिन ल्याइएको उनले जानकारी दिए।
उनले अस्पतालको सेवा विस्तार हुँदै गइरहेको भए पनि अझै जनशक्तिको अभाव भने भएको बताए। ‘पहिलेको तुलनामा हाल विशेषज्ञसहित डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुको टिम थपिए पनि अझै दरबन्दी अनुसार आवश्यक जनशक्तिको अभाव छ,’ उनले भने।
पचास शय्याको अस्पताल भएता पनि स्रोत र साधनको अभावमा सामान्य बिरामीहरु उपचारको लागि जिल्ला बाहिर जानुपर्ने अवस्थालाई विस्तारै कम गर्न सकिने डाक्टरहरुको भनाइ छ। यसै आर्थिक बर्षमा स्वास्थ्य मन्त्रालयले अस्पताललाई भेन्टिलेटर मेसिन पनि उपलब्ध गराएको छ। सेवाहरु विस्तार हुँदै गएकोमा खुसि व्यक्त गर्दै स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले स्रोत र साधन थपिएसंगै गुणस्तरिय सेवा लिन सकिनेमा आशावादी रहेको बताए।
विसं २०४५ सालमा स्थापना भएको जिल्ला अस्पतालले पछिल्लो समय आफ्ना सेवा सुविधाहरु बढाउँदै लगेको छ। अस्पतालमा अहिले फिजियोथेरापी, दन्त सेवा पनि सुचारु भएको छ ।
जिल्ला अस्पतालमा थाइराइड परीक्षण गर्ने सुविधा नहुँदा सेवाग्राहीले बाहिर निजी क्लिनिकहरुमा महंगो शुल्क तिरेर जाँच गर्नुपर्ने बाध्यता थियो। अब अस्पतालमा ८ सय रुपैंयामा थाइराइड परीक्षण हुनेछ।
FACEBOOK COMMENTS