काठमाडौं, चैत २१ – विभागीय नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ जित निकालेको छ। शनिबार भएको खेलमा पुलिसले अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुलिसले एपीएफमाथि रोमाञ्चक जित निकालेको हो। पुलिसले एपीएफसँग पहिलो र दोस्रो सेट २५–२० र ३०–२८ ले हारेको थियो। तर, त्यसपछि भने उत्कृष्ट पुनरागमन गर्दै पुलिसले एपीएफलाई हराएको हो। यसपछि तेस्रो सेट २५–२३ ले चौंथो सेट २५–१९ र अन्तिम तथा पाँचौं सेट १५–११ ले पुलिसले आफ्नो पक्षमा पार्दै एपीएफलाई ३–२ ले पराजित गरेको हो।
साविक विजेता एपीएफको यो जारी लिगमा पहिलो हार हो। यसअघि आफ्नो पहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो। एपीएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोडेको थियो।
यता, पुलिसको भने यो लगातार दोस्रो जित हो। यसअघि पुलिसले आफ्नो पहिलो खेलमा भरतपुर मेट्रो खेलकुदलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। पुलिसले भरतपुरलाई २५–४, २५–८, २५–१२ ले पराजित गर्दै तीन अंक बटुलेको थियो।
FACEBOOK COMMENTS