काठमाडौं, चैत २३ – फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८१ लाख ५०० कित्ता शेयर आजदेखि लिलामीमा आएको छ । ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।
बोलकबोलका लागि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३०० तोकिएको छ । सो वा सोभन्दा बढी मूल्य अंकित गरेको गोप्य शिलबन्दी बोलपत्र मात्र बाँडफाँटमा समेटिने बैंकको भनाई छ । बोलपत्र आवेदन फारम ग्लोबल आइएमई क्यापिटल लिमिटेड , नक्साल, काठमाडौंबाट रू. १०० नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ ।
शेयर खरिदका लागि न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा हितग्राही खाता अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
यस कम्पनीको लिलामी शेयर खरिद गर्ने आवेदकहरुले चैत २३ गतेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश र हकप्रद शेयर प्राप्त गर्ने समेत बैंकले जानकारी दिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बैशाख २७ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल , काठमाडौंमा दिउसो तीन बजे खोलिने समेत बैंकले बताएको छ ।
FACEBOOK COMMENTS