काठमाडौं, चैत ३० – भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।
गत डिसेम्बरमा दिनमा १५ हजारको संख्यामा मात्रै संक्रमित देखिने गरेका थिए । तर सोमबारको आँकडा त्यसयताकै सर्वाधिक रहेको मन्त्रालयको भनाइ छ । योसँगै हालसम्म भारतमा १ करोड ३५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २१ लाख ५६ हजारभन्दा बढी निको भइसकेका छन् ।
सोमबार कोरोनाकै कारण भारतमा ९ सय ४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ७० हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ । यो संख्या कूल संक्रमितको १.२६ प्रतिशत हो ।
केही सातायता कोरोना संक्रमण व्यापक भइरहेको भारतमा खोप अभियानलाई समेत गतिशील बनाइएको छ । मन्त्रालयका अनुसार १० करोड ४५ लाख २८ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ ।
FACEBOOK COMMENTS