काठमाडौं, वैशाख १० – राष्ट्रिय पुनर्निमाण प्राधिकरणले १२ वैशाख २०७२ सालको भूकम्पले क्षति पुर्याएका ९२० वटा सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ । त्यस्तै बाँकी २८८ वटा सम्पदा क्षेत्रको पुनर्निर्माण धमाधम भइरहेको जानकारी दिएको छ ।
भूकम्पपछिका ६ वर्ष र पुनर्निर्माणका प्रगतिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले रानीपोखरी पुनर्निर्माण सम्पन्न भई उद्घाटन भइसकेको तथा धरहराको भोलि वैशाख ११ गते ११ बजे उद्घाटनको कार्यक्रम रहेको जानकारी पनि दिए ।
त्यस्तै उनले राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागका भवनहरुको पुनर्निर्माण पनि सम्पन्न गरेको बताएका छन् । त्यसैगरी उनले केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेका रणोद्वीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारहरुको जिर्णोद्धार भइरहेको जानकारी दिएका छन् ।
बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुल्लामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा एवं नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्विक सम्पदाहरुको गुरुयोजना स्वीकृतिको चरणमा रहेको ज्ञवालीको भनाइ छ ।
गुम्बा निर्माणको अवस्था
क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भइसकेको बताइएको छ । पुनर्निर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र २ हजार वर्ग फिटभन्दा बढी प्लिन्थ एरिया भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र २ हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ वटाको पुनर्निर्माण कार्य अगाडि बढिरहेको प्राधिकरणले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS