काठमाडौं, वैशाख १४ – एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका लागि एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने ‘क्विक–पे’ सेवाको शुरूवात गरेको छ । यो सेवा नेपालको बैंकिङ क्षेत्रमा नै पहिलो पटक शुरू गरिएको बैंकको भनाइ छ ।
‘क्विक–पे’ सेवामार्फत विक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रूपमा भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकबाट नयाँ सेवा लिन चाहने व्यवसायीले बैंकमा पुगी सम्झौता गर्नुपर्ने छ । सम्झौतापश्चात् बैंकले भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउने छ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले ई–मेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सक्ने छन् ।
उपभोक्ताहरूले आफ्नो ल्यापटप, कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्ने बताइएको छ । नवीनतम प्रविधिमा आधारित अनलाइन भुक्तानी सेवाहरू प्रदान गर्नमा अग्रणी बैंक एनआईसी एशियाले देशमा डिजिटल कारोबार बढाउन उल्लेखनीय योगदान गर्दै आएको छ ।
हस्पिटालिटी, ट्राभल एण्ड टुर्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडि बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले यो सेवा सुरुवात गरेको बताएको छ ।
अनलाइन भुक्तानी सेवामा आबद्ध भएका ई–कमर्श कम्पनीहरूले ‘क्विक–पे’को माध्यमबाट भुक्तानी लिनाका साथै अफलाइन व्यवसाय गरिरहेका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्ने बैंकले बताएको छ ।
नयाँ सेवाले अनलाइन र अफलाइन भुक्तानीकोबीच गतिशील पुलको रूपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पुर्याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।
FACEBOOK COMMENTS