काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा समस्या देखिएको बताए । उनले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा निजी क्षेत्र र स्वास्थ्य क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा कोभिड–१९ ले समस्या देखाएको हो। तर, पुरै कोल्याप्स भएको छैन ।’ प्रधानमन्त्री ओलीले कोरोनाको सामना गर्न सक्षम भएको बताउँदै सरकारले कोभिड–१९ लाई पराजित गर्न धेरै विषय कार्यान्वयन गरेको उनको भनाई छ ।
उनले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालनामा सबैले ध्यान दिनुपर्ने बताए । ’जनतालाई फेरि पनि सजग गराउन आवश्यक छ । कोरोनाका लागि कुनै पनि तोकिएको औषधि छैन तर पनि जनतामा यो खाएर निको हुन्छ कि भन्ने विश्वास छ, रेम्डिसिभिर नै कोरोनाको औषधि होइन, यसलाई जनतामा बुझाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने ।
अक्सिजनको आपूर्ति तथा उपकरणको उपलब्धतामा सबैको जोड हुनुपर्ने बताउँदै उनले अक्सिजन, औषधिलगायत अत्यावश्यक सामग्रीको जोहो गर्न सरकार गम्भीर भएर लाग्ने दृढता व्यक्त गरे ।
कोरोना नियन्त्रणका लागि सञ्चालनमा ल्याइएका हटलाइन नम्बरमा फोन नउठ्ने गुनासा बाहिर आएकाले समस्या समाधान तत्काल गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्न उनले निर्देशन दिए ।
कोरोना नियन्त्रण गर्न सरकारले केही गरेन भनेर भन्नु मूर्खता भएको टिप्पणी गर्दै उनले एउटा पनि कोरोना परीक्षण गर्ने प्रयोगशाला नभएको मुलुकमा अहिले ८० भन्दा बढी प्रयोगशाला स्थापना भएको बताए ।
‘यसबीचमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको छ’, उनले भने, ’महामारी पहिल्यै थाह हुने कुरा भएन, अप्रत्याशित महामारीको सामना गर्नुपर्दा केही समस्या हुन सक्छ ।’ छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री, सुरक्षा निकायका प्रमुख, विशेषज्ञ चिकित्सक, निजी क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
FACEBOOK COMMENTS