काठमाडौं, जेठ २ – एनआईसी एशिया बंैकको म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)’ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । प्रति इकाई मूल्य १० रूपैयाँका दरको १० करोड इकाई बोर्डले स्वीकृत गरेको हो ।
स्वीकृत इकाईमध्ये बीज पूँजीवापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई राखेर बाँकी इकाई सार्वजनिक रूपमा विक्री गरिने कम्पनीले बताएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)’ ७ वर्ष अवधि रहेको तेस्रो बन्दमुखी योजना हो ।
उक्त योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमा लगानी गरिने बताइएको छ । उक्त योजनाको प्रमुख विषेशता भनेको सूचीकृत कम्पनीहरूमा लगानी गर्दा सूचीकृत कम्पनीहरूबाट राम्रा मानिएका कम्पनीहरूमध्ये ३० वटा कम्पनीहरू छनोट गरी लगानी गरिने छ । लगानी गरिने कम्पनीहरूको छनोट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने कम्पनीको भनाइ छ ।
सोही अनुसार कम्पनीको छनोट गर्दा धितोपत्रको दोस्रो बजारमा सूचीकृत सम्पूर्ण समूह, उपसमूहमा समावेश भएका कम्पनीहरूबाट समेत छनोट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूह उपसमूहको प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ । त्यसकारण ‘एनआईसी एशिया सेलेक्ट–३० फण्ड’लाई इन्डेक्स फण्ड भनिएको हो ।
विशेषत सूचीकृत कम्पनीहरूमा लगानी गर्दा ३० वटा कम्पनीहरूमा लगानी गरिने भए पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरूको संख्यामा थपघट हुन सक्ने छ । निश्चित समयपछि उक्त कम्पनीहरूको संख्यालाई पुनः मूल्याङ्गकन गरी ३० भन्दा बढी नहुने गरी कायम गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।
हाल एनआईसी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना सञ्चालन गरिहेको छ । साथै क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पाँचौं योजना एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड योजना स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको जनाएको छ ।
FACEBOOK COMMENTS