काठमाडौं, जेठ ३ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को सहयोगमा काठमाडौंको क्षेत्रपाटीमा ५० बेडको आइसोलेशन सञ्चालनमा आएको छ । क्षेत्रपाटीस्थित गोर्खा अस्पतालको भवनमा निर्माण गरिएको आइसोलेशन आज सोमबारदेखि सञ्चालनमा आएको हो ।
पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सो आइसोलेशनको आज संयुक्त रूपमा उद्घाटन गरेका छन् । सामाजिक दूरी कायम गर्दै आयोजना गरिएको उद्घाटन कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र काठमाडौं महानगर तथा वडाहरूका जनप्रतिनिधिलगायत केही उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।
दोस्रो लहरको कोरोना महामारी तीव्र बन्दै गएसँगै आइसोलेशनको अभाव दिनप्रतिदित बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी महासंघले सञ्चालनमा ल्याएको उक्त आइसोलेशनको व्यवस्थापन र सञ्चालन काठमाडौं महानगरपालिकाको १७ नम्बर वडाले गर्ने भएको छ ।
विशेषगरी काठमाडौंमा घर नभएका तथा भाडामा बसोबास गर्ने संक्रमितलाई लक्षित गरी उक्त आइसोलेशन सञ्चालनमा ल्याइएको महासंघअन्तर्गतको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले जानकारी दिए । ‘एउटा वा दुई वटा कोठा भाडामा लिएर बस्ने परिवारका कोही एक जना सदस्य संक्रमित हुँदा उनीहरूलाई आइसोलेशनमा बस्न समेत समस्या पर्दै आएको छ,’ सभापति ढकालले भने, ‘आर्थिक अवस्था कमजोर हुनाका साथै आफू बसिरहेको ठाउँमा आइसोलेशनको अभाव झेलिरहेकाहरूलाई हामीले लक्षित गरी यो आइसोलेशन सञ्चालनमा ल्याएका हौं ।’
उनका अनुसार हाललाई अक्सिजनरहित आइसोलेशनमा बिहानबेलुकै खाना र डाक्टर तथा नर्सको सुविधा छ । अहिले ५० बेडको आइसोलेशन सञ्चालनमा ल्याइएको भए पनि त्यसलाई आवश्यकताअनुसार १०० बेडसम्म विस्तार गर्न सकिने उनको भनाइ छ । आइसोलेशन सञ्चालनमा आएकै दिन ५ जना विरामीले सुविधा उपभोग गर्न शुरू गरिसकेको उनले जानकारी दिए ।
गोर्खा अस्पताल बन्द भएसँगै उक्त भवन खाली रहँदै आएको थियो । खाली भवनलाई काठमाडौं महानगरपालिका र एफएनसीसीआईले तत्कालका लागि आइसोलेशनको रूपमा विकास गरेको हो । यसबाट आइसोलेशनको अभाव झेलिरहेका निम्न वर्गका मानिसहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS