काठमाडौँ, जेठ ४ गते । समाजसेवि तथा बैंकर अनिल केशरी शाहले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट बच्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले मुलुक कोरोना भाइरसको दोस्रो लहरका कारण निकै कठिन परिस्थितिबाट गुज्रिरहेको यो अवस्थामा कसैको मुख हेरेर नबसी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।
शाहले एक भिडियो अपिल सार्वजनिक गर्दै महामारीको यस कठिन समयमा पनि चिकित्सक नर्स लगायत सुरक्षा निकाय जसरी महामारीसँग लडिरहेका छन् त्यसमा सबैले साथ र सहयोग गर्न जरुरी रहेको बताएका छन् । उनले नागरिकले कुनै पनि आर्थिक गतिविधिका लागि समस्या भोग्न नपरोस् भनेर आफ्ना कर्मचारी र आफै पनि विभिन्न शाखाहरु मार्फत सेवा दिन तल्लिन रहेको र यसमा स्वास्थ्यका मापदण्ड पालना गरी सहयोग गर्न सबैमा अपिल गरे ।
शाहले अगाडी भनेका छन्, ‘म हात जोडेर सबैलाई आग्रह गर्दछु कि आजको यस अवस्थामा आएर हिजो यो हुनुपर्दथ्यो त्यो हुनुपर्दथ्यो, यसले यो गरेन त्यो गरेन भनेर नबसौँ । सबैले आ–आफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यो गरौं । विगतमा रुमलिनु भन्दा आजको अवस्थाबाट कसरी पार पाउने बारे उपाय खोजौँ । आज के गर्नुपर्छ भन्नेमा सबै केन्द्रित हौं ।’
आफ्नो स्वास्थ्यको जिम्मेवार आफै भएकाले कसरी आफू र आफ्नो परिवारलाई सुरक्षित राख्ने बारेमा सचेत हुन शाहको आग्रह छ । उनी अब सरकारको वा कसैको मुख हेर्नुभन्दा पनि आफैलाई हेरेर अगाडि बढ्नुपर्ने अवस्था आएकाले आलोचनामा अल्झिनुभन्दा आफै जिम्मेबार बनेर अगाडि बढ्नु पर्ने बताउँछन् ।
अस्पतालमा अक्सिजन, आईसीयू र भेन्टिलेटर खोज्दै ज्यान गुमाउनुपर्ने अवस्था भएकाले अति आवश्यक नपरी बाहिर ननिस्किन पनि उनले आग्रह गरे ।
शाहले भनेका छन्, ‘कोरोनाबाट बचाउने मुख्य यन्त्र नै मास्क भएकाले मास्क लगाऔँ । सामाजिक दुरी कायम गरौं, कुनै कामका लागि हतार नगरौं । आज डाक्टर, नर्स, पुलिस आर्मी जस्तै हामी पनि जनतालाई सेवा दिन बैंक आएका छौं । तपाई सकेसम्म बाहिर ननिस्किनुस्, घरमै बस्नुस् । बैंकका कामको लागि सकेसम्म डिजिटल बैंकिङ्गको प्रयोग गर्नुस् । आउनै परे पनि भिडभाड नगरी सामाजिक दुरी कायम गरिदिनुस् । यति गर्नुभयो भने हामी पनि सुरक्षित रहन्छौं तपाई पनि सुरक्षित रहनुहुन्छ ।’
FACEBOOK COMMENTS