काठमाडौँ, जेष्ठ ५ – कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोभिड अस्थायी अस्पताल निर्माण गरेको छ ।
तिलोत्तमा ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा ४० बेडको अस्पताल बनाइएको हो । अस्थायी अस्पतालमा सेन्टर फ्लो सिष्टमबाट संक्रमितलाई आवश्यकता अनुसार अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ ।बुधबार नगर प्रमुख बासुदेव घिमिरेले कोरोना फोकल पर्सन केशव भट्टराईलाई चाबी हस्तान्तरण गर्दै अस्थायी अस्पतालको उद्घाटन गरेका छन् ।
सो अवसरमा नगर प्रमुख घिमिरेले शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि अस्थायी अस्पताल निर्माण गरिएको बताए ।सभा हल भवनमा पर्याप्त पुर्वाधार रहेकाले क्रमशः एक सय बेड बनाएर संक्रमितको उपचार गर्न सकिने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा वडा नं. ९ का अध्यक्ष नारायण न्यौपानेसहितको एक समिति बनाइएको फोकल पर्सन केशव भट्टराईले बताए ।
FACEBOOK COMMENTS