काठमाडौं, जेठ ६ – नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा मंगलबार नै नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराउने छ । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको अहिलेको विषम परिस्थितिमा नबिल बैंकले सरकारलाई सहयोग गरेको हो ।
यो प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने विश्वास लिएको बैंकले जनाएको छ । चालू आर्थिक वर्षमा कोभिड १९ को प्रतिकार्यका लागि नबिल बैंकले नेपाल सरकारलाई ६ करोड नगद सहयोग गरेको छ ।
वीर अस्पतालमा अक्सिजन प्लान्टसँगै केहि अस्पतालहरूलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैंकले थप प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । यो सबै गरेर बैंकले कोरोना रोकथाम र नियन्त्रणमा लगभग ८ करोडको सहयोग प्रदान गर्ने भएको छ ।
विपद्सम्बन्धीको विश्वव्यापी दस्तावेज सेन्डाइ कार्य ढाँचाले समेत विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहित गर्नुपर्ने व्यवस्था गरेको र नेपाल सरकारले पनि विपद् व्यवस्थापनमा निजी क्षेत्रको संलग्नतालाई अपरिहार्य ठानेको सन्दर्भमा नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन पनि बहुपक्षीय साझेदारीमा निजी क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ भन्ने कुरालाई दृष्टिगत गर्दै सरकारसँंग यस किसिमको साझेदारी गरेको हो ।
नेपाल जस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजी क्षेत्रसहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने बैंकको विश्वास छ ।
FACEBOOK COMMENTS