नवलपरासी, जेठ ६ – नवलपरासीमा कोरोना भाइरसका थप ६ जना संक्रमितको मृत्यु भएको छ । बिहीबार बर्दघाट नगरपालिका–१६ की ५२ वर्षीया महिलाको कोभिड अस्पताल बुटवलमा र वडा नं. ४ का ६० वर्षीय पुरुषको चिसापानी अस्पतालको आईसोलेशन सेन्टरमा मृत्यु भएको हो ।
यसैगरी सुनवल नगरपालिका–७ की ४० वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । त्यस्तै प्रतापपुर गाउँपालिका–९ का ४५ वर्षीय पुरुषको पृथ्वीचन्द्र अस्पताल परासीमा, पाल्हिनन्दन गाउँपालिकाका ४५ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा र सुस्ता गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको सहिद स्मृति सामुदायिक अस्पताल बर्दघाटमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०९ पुगेको छ ।
त्यसैगरी आज बिहीबार पजल्लामा गरिएको आरटी–पीसीआर परीक्षणबाट ८१ जना र एन्टिजेनबाट १४ जना गरी ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । रामग्राम नगरपालिकामा १३ जना, सुनवल नगरपालिकामा ३६ जना, बर्दघाट नगरपालिकामा ३२ जना, सरावल गाउँपालिकामा ६ जना, प्रतापपुर गाउँपालिकामा ४ जना र सुस्ता गाउँपालिकामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४२१ रहेको छ भने १ हजार ८६५ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३०५ जना संक्रमित थपिएका छन् भने १९० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या हालसम्म ५ हजार ८४७ पुगेको छ ।
सहबान अन्सारीबाट
FACEBOOK COMMENTS