काठमाडौं, जेठ ११ – भारतले कोरोना विरुद्धको कोभिशील्ड खोप तत्काल नपठाउने भएपछि सरकारले खोप उत्पादक अन्य ४ कम्पनीमा पत्राचार गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दर्ता भएका कोरोना खोप कोभिशील्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल र अमेरिकामा उत्पादन भएको खोप जोन्सन एण्ड जोन्सनलाई ५० लाख डोज खोप खरिदका लागि पत्राचार गरेको हो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले यी कम्पनीहरूसँग खोप खरिद गर्न पत्राचार गरिएको र नियमित सम्पर्कमा रहेको बताएका छन्।उनले भने, ‘खोप ल्याउनको लागि हामीले कम्पनीहरूसँग पत्राचार गरिसकेका छौँ।’
सरकारले यी कम्पनीहरूसँग आफैँ खोप किनेर असोजसम्म एक करोड जनतालाई खोप लगाउने लक्ष्यअनुसार अन्य मुलुकमा उत्पादन भएको खोप खरिद गर्न लागेको हो।फाइजर माइनस ७० डिग्रीमा र मोर्डना माइनस २० डिग्रीमा भन्डारण गर्नुपर्ने, तर हाल नेपालमा सो क्षमतामा भन्डारण नभएकाले नेपाललाई यी दुई खोप बाहेकका खोप अनुकूल हुने हुँदा सरकारले सो खोप उत्पादन कम्पनीहरूलाई पत्राचार गरेको हो।
अमेरिकाले उत्पादन गरेको जोनसोन एण्ड जोनसोनको खोप एक डोजमात्र लगाए पुग्ने भएकाले अन्य खोपको तुलनामा सस्तो पनि पर्नेछ।जोनसोन एण्ड जोनसोनको खोप २ देखि ८ डिग्री तापक्रममा राख्न सकिने हुँदा भण्डारणका लागि पनि सहज हुने बताइएको छ।
FACEBOOK COMMENTS