मैनहिया (रूपन्देही), जेठ १२ – अर्घाखाँची सिमेन्ट प्रालिले रूपन्देहीको सियारी गाँउपालिका–२ मैनहियामा निर्माण गरेको मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरी हस्तान्तरण गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्रालिका निर्देशक राजेश कुमार अग्रवालले आज बुधबार संयुक्त रूपमा उद्घाटन गरे ।
अर्घाखाँची सिमेन्टले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । उक्त भवन निर्माणका लागि ७० लाख रूपैयाँ लागेको कम्पनीले जनाएको छ ।
‘मैनहिया गाउँपालिकाका जनतालाई पहिले स्वास्थ्यचौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो,’ अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले भवन उद्घाटनका क्रममा भने, ‘अहिले यहाँका जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउो विश्वास हाम्रो छ ।’ आफ्नो कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त भवन निर्माण गरेको अग्रावालको भनाइ छ ।
यस्तै जनहितका लागि सिमेन्ट कम्पनीले प्रशंसनीय कार्य गरेको भन्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले भने, ‘सम्पूर्ण जनमानसको लागि गरिएको यो प्रशंसनीय कार्यको लागि हामी अर्घाखाँची सिमेन्टलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।’ विद्यमान कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितका लागि उक्त स्वास्थ्यचौकीलाई व्यवस्थित गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।
उक्त स्वास्थ्यचौकीमा ब्लड प्रेसर मापन गर्ने, एक्स–रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरू उपलब्ध छ ।
अर्घाखाँची सिमेन्टले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आइरहेको जनाएको छ । कम्पनीले मैनहिया गाँउपालिकाका विद्यालयलाई पठनपाठनका लागि साम्रगी वितरणका साथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुर्याउँदै आएको छ ।
गतवर्ष यो कम्पनीले लुम्बिनी प्रदेश सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि ५.१ मिलयन रूपैयाँ सहयोग गरेको थियो । साथै सियारी गाँउपालिकालाई २ लाख रूपैयाँ नगद र पाल्पाको तिनाउँ र माछागढी ग्रामीण नगरपालिकालाई २० लाख रूपैयाँ सहयोग गरेको थियो ।
माछागढीमा उक्त कम्पनीको चूना ढुङ्गाखानी समेत छ ।
FACEBOOK COMMENTS