काठमाडौं, जेठ १९ – एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा श्पुन रेमिटसँग साझेदारी गरेको छ । बेलायतबाट नेपालमा पैसा पठाउनका लागि बैंकले उक्त रेमिटसँग रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौता गरेको हो ।
त्यससम्बन्धी सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
श्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङका लागि दर्ता गरिएको एमए फास्टमोव लिअन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लिकेशनको दुबै एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको बताइएको छ । अब बेलायतमा रहेका रेमिटरहरूले आफूलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्ने छन् ।
यस साझेदारीले बैंकका सेवाहरू बेलायतमा पनि विस्तार गर्नाका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नमा मद्दत गर्ने छ । श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिटमार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपालभर फैलिएको ९ हजार वटा भन्दा बढी पे–आउट एजेन्टहरू र बैंकको १०३ वटा शाखाबाट नगद भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS