काठमाडौं, जेठ २५ – नेकपा एमाले स्थायी कमिटीका सदस्य टोप बहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको समाचार कपोकल्पित भएको बताएका छन् ।
उनले पछिल्लो समय केही सञ्चार माध्यमहरुमा माओवादी केन्द्रमा फर्किन लागेको भनेर आएका समाचार आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पदलोलुपताको कारण पार्टी विघटनको दिशामा अगाडि बढेको आरोप समेत लगाएका छन् । उनले भनेका छन्, कुर्सी मोह , अस्थिरता, परिवारवादी एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।
उनले सुशासन सहितको स्थिरतामार्फत मुलुकमा दिगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि केपी शर्मा ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसंग एकता र सहकार्यको प्रक्रियामा नै रहेको समेत जानकारी दिएका छन् ।
उनले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन् ।
FACEBOOK COMMENTS