काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटी एकतर्फी रूपमै भंग गरेका छन् । यो निर्णयले एमालेको आन्तरिक विवाद समाधान गर्ने बलियो आधार बनाएको छैन । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजक कमिटी भंग गर्ने ओलीको निर्णयको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको छ ।
‘जबसम्म पारदर्शी ढंगबाट औपचारिक रूपमा दुईवटा वार्ता टोलीका बीचमा छलफल हुँदैन, दुईवटा नेताका बीचमा सहमति हुँदैन र प्याकेजमा सम्पूर्ण विषयमा सहमति हुँदैन, त्यति वेलासम्म जेसुकै निर्णय गरे पनि कुनै अर्थ हुँदैन,’ वरिष्ठ नेता नेपालले नयाँ पत्रिकासँग भने, ‘साथै, अवैधानिक महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीको बैठक बोलाउने अधिकार नै छैन । त्यस्तो बैठकमा जाने कुरै हुँदैन । सर्वोच्च अदालतको फैसलालाई प्रभाव पार्ने र पाँच पार्टीबीचको गठबन्धनमा अविश्वास पैदा हुने कुनै पनि काम हामीबाट हुँदैन ।’
तर, संस्थापन पक्षले पछिल्लो निर्णयले एकताको आधार बनाएको दाबी गरेको छ । ‘विधिको शासन पालना गर्ने पार्टीले अन्यथा निर्णय नभएसम्म अदालतको आदेश पालना गर्नु कर्तव्य भएकाले फैसलालाई समेत ध्यानमा राखेर आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने र केन्द्रीय कमिटीकै तहबाट सञ्चालित हुने निर्णय गरेका छौँ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यसअघि आयोजक कमिटी र स्थायी कमिटीले गरेको कारबाहीका निर्णय निष्प्रभावी भएका छन् । त्यसले पार्टीलाई एकताबद्ध बनाउने नयाँ आधार सिर्जना गरेको छ । यदि एकता र पार्टीको भलो चाहेका हौँ भने अन्यथा टिप्पणीको कुनै अर्थ छैन, मनसाय बेग्लै भए अलग्गै कुरा भो ।’
२३ फागुनमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ब्युँतिएको एमालेमा ओलीले खनाल–नेपाल समूहसँग परामर्श नगरी २८ फागुनमा नवौँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीलाई दशौँ महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका थिए । तर, त्यसपछि एमालेमा सुरु भएको विवाद बढ्दै गएर विभाजनको तहमा पुगेपछि ओलीले तीन महिनापछि १६ असारमा महाधिवेशन आयोजक कमिटी एकतर्फी रूपमै भंग गरेका छन् । आयोजक कमिटी भंगमा ओलीले लिएको एकतर्फी निर्णयले एमाले विवाद जहाँको त्यहीँ राखेको छ ।
संस्थापन पक्षको बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गरी त्यसले गरेका निर्णयलाई निष्प्रभावी बनाउने तथा नेपालसहित उनीनिकट नेता–कार्यकर्तामाथिको कारबाही फिर्ता लिने र शुक्रबार केन्द्रीय कमिटी बैठक राख्नेसहितको निर्णय गरेको छ । बैठकले नेकपा बनेपछि स्थायी कमिटीमा मनोनीत भएका एमालेतर्फका विष्णु रिमाल, रघुजी पन्त, डा। बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीतर्फबाट नेकपामा स्थायी समिति सदस्य रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले एमालेको केन्द्रीय संरचनालाई नवौँ राष्ट्रिय महाधिवेशनबाट चयन भएको ठाउँमा पुर्याएको छैन । बरु, ओलीले पूर्वमाओवादी नेताहरूलाई समेत स्थायी कमिटीमा समेटेका छन् । दुई सय ६४ सदस्यीय आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको छ ।
ओलीले एकतर्फी रूपमा लिएको निर्णयले एकताको आधार नबनाएको खनाल–नेपालनिकट नेता रघु पन्तले बताए । ‘हामी एकताका विरुद्धमा छँदै छैनौँ, तर जुन ढंगले एकपक्षीय निर्णय गरेर पेलेर जान खोजिएको छ, त्यो स्वीकार्य छैन । पछिल्लो निर्णयलाई हेर्दा शुक्रबारका लागि डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने स्थिति अझै बनिसकेको छैन,’ खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य पन्तले नयाँ पत्रिकासँग भने, ‘प्याकेजमै सहमति हुनुपर्छ । सहमति नभई उहाँहरूले बैठक डाक्नुभयो भन्दैमा हामी खुरुक्क जाने स्थिति बन्दैन ।’
संस्थापन पक्षको निर्णयमाथि औपचारिक धारणा बनाउन खनाल–नेपाल समूहले बिहीबार स्थायी कमिटी सदस्यहरूको बैठक डाकेको छ । शुक्रबार डाकिएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने वा नहुनेलगायत विषयमा बैठकबाटै औपचारिक निर्णय गर्ने खनाल–नेपाल समूहको तयारी छ । त्यसपछि आवश्यकता परे समूहमा रहेका केन्द्रीय सदस्यहरूको समेत बैठक राख्ने मनस्थितिमा वरिष्ठ नेता नेपाल पुगेका छन् । सर्वोच्च अदालतले अवैध संरचना मानेको दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णयबाट संस्थापन पक्षले एकलौटी केन्द्रीय कमिटीको बैठक बोलाएको जिकिरसहित नेपाल पक्षले अर्को नयाँ सहमति नबने बैठकमा सहभागी नहुने जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS