काठमाडौं । आगामी आर्थिक वर्षका लागि केन्द्रीय बैंकले ल्याउन लागेको मौद्रिक नीतिले सेयर बजारलाई कन्ट्रोल गर्ने हल्ला फैलिएपछि त्यसको प्रत्यक्ष असर बजारमा परेको छ । ठूलो ब्रोकर कम्पनी र ठूलो लगानीकर्ताले आफ्ना ग्राहक तथा निकट व्यक्तिलाई मौद्रिक नीति बजारलाई कस्नेगरी आउन लागेको र अहिले सेयर किन्न नहुने भनेपछि बजारले केही दिनदेखि ओरालो यात्रा तय गरेको हो ।
असार सुरुदेखि नै ह्रास आउन थालेको बजार अझै तंग्रिन सकेको छैन । असारमा कर तिर्ने चटारो र बैंकको साँवा/ब्याज बुझाउने दबाब एकसाथमा परेकाले बजार केही संकुचित भएको अनुमान गरिएको छ । साथै, बजारले मौद्रिक नीति पनि कुरेको देखिन्छ ।
मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष प्रभावित बनाउने विषयहरुमा कस्तो रणनीति अख्तियार हुन्छ भन्ने आम चासो रहेको र सोही कारण नाफा बुक गरेर बसेका संस्थागत लगानीकर्ता, सामूहिक लगानी कोष अनि ठूला लगानीकर्ताहरुसमेत एक हदसम्म ‘पर्ख र हेर’कै रणनीतिमा लाग्दा बजार सुस्त बनेको अनुमान गरिएको छ ।बजार लामो समयदेखि सुस्त बन्दा सेयर मूल्य भने निकै सस्तो भइसकेको छ । सबल कम्पनीहरुको समेत भाउ निकै सस्तो भएकाले सर्वसाधारण लगानीकर्तालाई छानीरोजी किन्ने अवसर प्राप्त भएको छ । सस्तो भएका बेला किन्ने रणनीति बनाउने लगानीकर्तालाई यो राम्रो अवसर पनि हो ।
घटेको बजार फेरि वृद्धि हुन्छ भन्ने आत्मविश्वास हुन आवश्यक छ । साउन लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि लाभांश घोषणा र साधारणसभाको सिजन सुरु हुनेछ ।यसर्थ, अहिले सेयर होल्ड गर्दा निकै छोटो अवधिमा लाभांश पाउन सकिन्छ । यसतर्फ स्मार्ट लगानीकर्ताले विचार गर्नुपर्ने हुन्छ । लगानीकर्ताले कुनै पनि कम्पनीको नाफा, रिजर्भ, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात तथा भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई ख्याल गर्दै लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।
यस्तै, पीई रेसियो समेत अध्ययन गर्दै सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सके जोखिम न्यूनीकरण गर्न र अधिकतम लाभ लिन सहयोग पुग्न सक्छ । लगानी गर्दा होल्ड गर्ने पिरियडका बारेमा पनि निश्चित हुनुपर्छ । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कस्तो प्रकारको लगानी गर्ने भन्ने पूर्वयोजना बनाउन सके निकै सजिलो हुने अनुभवी लगानीकर्ताहरुको भनाइ रहेको छ ।
आज पनि सेयर बजार घटेको छ । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२४ अंकले घटेर २८१८.११ बिन्दुमा रोकिएको छ । त्यसैगरी बजारलाई कारोबारले पनि साथ दिएको छैन् । ।
FACEBOOK COMMENTS