ज्योत्स्ना श्रेष्ठ (सुब्बा) नेपाल रत्न तथा आभूषण संघकी अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघकी कार्यसमिति सदस्य हुन् । रत्न तथा आभूषण व्यवसायको क्षेत्रमा सुपरिचित पहिचान बनाएकी महिला उद्यमी श्रेष्ठले विज्ञान (बायोलोजी) विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् ।
आफ्नो शिक्षादिक्षा दार्जिलिङबाट पूरा गरेकी उनले शुरूमा तत्कालीन शाही नेपाल वायु सेवा निगम (आरएनएसी) मा जागिरे जीवन शुरू गरेकी थिइन् । तर, सेवा शुरू गरेको करिब २ वर्षमै उनी वैवाहिक बन्धनमा बाँधिएपछि जागिरलाई निरन्तरता दिन सकिनन् र गृहिणीका रूपमा करिब २ वर्ष घरमै बसेर बिताइन् ।
सामान्यतः भान्साको कतिपय सामान समेत नचिन्ने अवस्थामा बुहारी बनेकी उनले दुई वर्षे गृहिणीको अवधिमा घरायसी धेरै कुरा सिक्ने मौका पाइन् । तर, गृहिणीको रूपमा मात्र बसेर हुँदैन म आफूले नै केही गर्नुपर्छ भन्ने हुटहुटीले सताउन चाहिँ उनलाई छाडेन । तत्कालीन समयमा हाउसमेड महिलाहरूले मासिक ८०० रूपैयाँ पारिश्रमिक लिइरहेको देख्दा उनमा आफूलाई त्यो भन्दा धेरै सक्षम छु भन्ने लागिरहन्थ्यो र महिलाहरू किन गृहिणीमात्रै बनेर बस्नु केही त गर्नैपर्छ भन्ने लागिरह्यो ।
तर, त्यसबेलाको समय, पारिवारिक अनुशासन र अन्य धेरै कुराले उनलाई सहजै घरबाहिरको काममा आउने अनुमति थिएन । तथापि उनका ससुरा बुबाको गहना पसल भएका कारण उनले घरमै बस्दा बस्दै पनि धेरै कुरा सिक्न पाएको र शीप सिकाउने कुरामा ससुराबुबाको योगदान महत्वपूर्ण रहेको उनी बताउँछिन् ।
ज्वेलरीको क्षेत्रमा प्रविधिको राम्रोसँग विकास नभइसकेको अवस्थामा उनले आफ्नो ससुराबाट धेरै कुरा सिक्न पाइन् । त्यसपछि आफैले ज्वेलरी क्षेत्रमा काम गर्ने सोच बनाएर परिवारमा कुरा राखिन् । सासुससुरा र श्रीमान्ले सहजै अनुमति दिएपछि उनले घरकै ज्वेलरी पसल भएकै छेउमा आफ्नो एकजना साथीसँग मिलेर सन् १९८८ मा एउटा ‘बेबी कर्नर’ नामको पसल सञ्चालन गरिन् । ज्वेलरी र बेबी कर्नर सँगै भएका कारण उनले दुवैतिर काम गर्थिन् । त्यसबाट पनि उनले धेरै व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गरिन् ।
हुन त जुन परिवारमा विवाह गरेर ज्योत्स्ना भित्रिइन् त्यो परिवारले ४ पुस्तादेखि ज्वेलरीको क्षेत्र अपनाउँदै आएको छ । उनको परिवारले ज्वेलरी क्षेत्र अपनाएको १११ वर्ष पूरा भइसकेको छ । तर, ज्योत्स्ना बुहारी बनेर आउँदासम्म त्यही परिवारका महिलाहरूले भने घरबाहिरको काम गर्ने संस्कृतिको विकास भइसकेको थिएन ।
बेबी कर्नर सञ्चालन गरेको दुई वर्षपछि उक्त पसल बन्द गरेर सोही ठाउँबाट ज्वेलरी व्यवसायी शुरू गरेकी श्रेष्ठ अहिले मान, सम्मान, इज्जत र चर्चायोग्य नाम बनाउन सफल बनेकी छिन् । यसबाट महिलाहरूले घरधन्दासँगै ठूला उद्यम पनि गर्न सक्छन् भन्ने पुष्टि भएको छ भने आम महिलाहरूका लागि अनुकरणीय व्यक्ति बनेर सबैका सामु प्रस्तुत भएकी छिन् । घरधन्दाका साथै व्यवसाय समेत गर्दै अगाडि बढेकी ज्योत्स्ना श्रेष्ठ अहिले ज्वेलरीको क्षेत्रमा प्रेरणादायी र परिचित नाम बनेको छ ।
जतिबेला उनले व्यवसाय शुरू गरेकी थिइन् त्यतिबेला अहिलेजस्तो बनिबनाउ गरगहनाहरू पाइँदैन थियो, रिटेल पसलहरू हुँदैन थिए । ग्राहक आफैले लिएर आएका सुनलाई अर्डरअनुसार बनाउनुपर्ने अवस्था थियो । यसरी बनाउँदा अर्डर गरेको ६ महिनादेखि करिब २ वर्षसम्म पर्खिनुपर्ने अवस्था थियो ।
यस्तो अवस्थालाई केही सहज बनाउनुपर्छ भनेर आफूहरूले नै काठमाडौंको मखनमा रिटेल पसल खोलेको श्रेष्ठ बताउँछिन् । सम्भवतः पहिलोपटक खोलिएको उक्त पसलमा सिजनको बेला निक्कै भीडाभाड हुने तथा अबेरसम्म पनि पसलमै बस्नुपर्ने स्थिति रहेको उनी सुनाउँछिन् । त्यतिबेलाको समयमा करिब २ लाख रूपैयाँको लगानीमा शुरू गरिएका तिनै साना–साना पसलहरूको स्तरवृद्धि गर्दै अहिले काठमाडौंको दरबारमार्गमा मेरीगोल्ड अर्नामेन्ट्स सञ्चालनमा छ । जहाँ, सुन, चाँदी र हिराका गरगहनाहरूको शोरुम तथा विक्री केन्द्र छ ।
यो व्यवसायमा लागिसकेपछि धेरै आउटलेटहरू बनाउने उनको सोच थियो । त्यही उद्देश्यअनुरूप उनले ‘मेरीगोल्ड सयपत्री’ नामाकरण गरेकी थिइन् । कम्तीमा पनि १०० वटा आउटलेट खडा गर्ने चाहना भए पनि लगानीको वातावरणलगायत कारणले सोचेअनुसार शाखा वृद्धि गर्न नसकेको उनी बताउँछिन् ।
आफूले यो व्यवसाय शुरू गर्दाको अवस्थामा सुन सम्पत्ति जोड्न र लगाउन मन लाग्दा जुनसुकै बेला खरीदविक्री हुने गर्दथ्यो । तर, आजभोलि सिजनमा देखासिकीका लागि मात्रै खरीदविक्री हुने गरेको उनको अनुभव छ ।
ज्योत्स्ना व्यवसायी मात्रै होइनन् । उनी आम व्यवसायीहरूको हक र हितमा काम गर्ने एउटा प्रभावशाली संस्थाको नेतृ समेत हुन् । उनकै श्रीमान् सुरेशमान श्रेष्ठ संस्थापक अध्यक्ष रहेर स्थापना भएको नेपाल रत्न तथा आभूषण संघमा ज्योत्स्ना अहिले अध्यक्ष बनेकी छिन् । त्यतिमात्र होइन समग्र औद्योगिक क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यसमितिमा उनी निर्वाचित सदस्य समेत छिन् । उक्त कार्यसमितिमा अहिले पर्यटन तथा हवाई यातायात समितिको नेतृत्व उनको काँधमा छ ।
आफूले गरेको कुनै पनि कुराले अरु व्यक्तिलाई चित्त नदुःखोस् भन्ने सोच राख्ने श्रेष्ठलाई यो व्यवसायमा लागेर कुनै पछुतो छैन । तर, अन्य महिला तथा सबै नयाँ उद्यमीलाई सहनशील, धैर्यता र आत्मविश्वासका साथ आउन आग्रह गर्छिन् । व्यवसाय गर्ने त हो नि भनेर शिक्षा आर्जनमा कम्प्रोमाइज नगर्न पनि उनको अनुरोध छ ।
देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा राज्यलाई महत्वपूर्ण योगदान गरिरहेको ज्वेलरी क्षेत्रलाई सरकारले अनुत्पादक क्षेत्रका रूपमा व्याख्या गरेकोप्रति उनलाई दुःख लागेको छ । कच्चा पदार्थ आयातमा सहज वातावरण बनाउँदै ज्वेलरीको क्षेत्रमा हुने कैयन अपादर्शी कामलाई पारदर्शी बनाउनका लागि आवश्यक नीति–निर्देशिका ल्याउन उनले सरकारसँग आग्रह गरेकी छिन् ।
FACEBOOK COMMENTS