काठमाडौँ — संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७३ हजार ३ सय ३० कर्मचारीले अनलाइन फाराम भरेका छन् ।
फाराम भर्न दिइएको २१ दिनको म्याद बुधबार सकिँदैछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार ६२ हजार ४६ जनाको फाराम सफ्टवेयरमा दर्ता भइसकेको छ भने ११ हजार २ सय ८३ जनाले भरेको फाराम सफ्टवेयरमा पोस्ट हुन बाँकी छ ।
बुधबार राति ११ः५९ बजेसम्म कर्मचारीले अनलाइनमा फाराम अपलोड गर्न सक्नेछन् ।
प्रमुख पनेरुले ८५ प्रतिशतभन्दा बढी कर्मचारीले समायोजनमा सहभागिता जनाएको बताए ।
अध्यादेशले वृत्तिविकास रोकेको भन्दै सुरुमा कर्मचारी आन्दोलित भए पनि उनीहरूका माग संघीय निजामती कर्मचारी ऐनमा समेटिने सरकारको घोषणापछि समायोजन प्रक्रिया सहज भएको थियो ।
— कान्तिपुर
FACEBOOK COMMENTS