काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए ।
‘हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैं प्रवर्द्धन गरेको छ’, प्रधानमन्त्री देउवाले भने ‘तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौं ।’ प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने बताए ।
उनले नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताए ।
भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । उनले नीतिगत सहजीकरण मार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरे ।
अध्यक्ष मोरले आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन प्रयासरत रहेको भन्दै यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्ने बताए । अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS