हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन बाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् । शान्ति, स्थिरता र समृद्धि जनताको आशा भए पनि त्यसविपरीत राज्यसत्ता चल्दै आएको भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएकाले जनतामा निराशा र आक्रोश रहेको थापाको भनाइ छ । आज बुधबार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे ।
काङ्ग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने जिकिर गरे । आन्तरिक विग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै वैचारिक लाइनमा हिँडेकाले मुकुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको भनाइ छ ।
नयाँ सरकारप्रति विश्वासको वातावरण नभएको जनतामा चरम वितृष्ण र असन्तोष भएको उनले बताएका छन् ।
उक्त अवसरमा अध्यक्ष थापाले महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न जिल्लाका कार्यकर्ताहरुलार्इ निर्देशन दिएका छन् । पार्टी कार्यसम्पादन समिति सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नबराज बिष्ट, जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा, सचिव सागर थापा लगायतले कार्यक्रममा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS